नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जर्नी विदिन एण्ड आउट

यात्रामा निस्किएको मान्छेले धेरै कुरा टिपेर ल्याउँछ. कहिले प्यान्टभरि कुरो, कुहिनाभरि घाउ त कहिले हृदयभरि न्यानो. कहिलेकाहीं यात्री गीतहरु पनि बटुलेर ल्याउँछ आफूले हिँडेका बाटाको. बाटामा भेटिएका मान्छेको. सुनेको, देखेको, पढेको, भोगेको गीत. भर्खरैको यात्राबाट टिपेर ल्याएको एउटा गीत सुन्दैछु अहिले. म पनि यात्री हुँ नि त ! समुद्रको छालजस्तो यात्री. आफूसँग केही नराखी सबै किनारलाई सुम्पने. म पनि आफूसँग केही राख्दिनँ. सबै तपाईंहरुलाई. जो यो पढ्दै हुनुहुन्छ, तपाईंलाई. हृदयमा न्यानो अथवा ओठमा मुस्कान आए यो पढ्दा, म त्यसलाई तपाईंले श्रद्धाले दिनुभएको चुम्बन भन्ठान्नेछु. चुम्बनमा तपाईंलाई आपत्ति छ भने अङ्कमाल भन्ठान्नेछु. त्यो पनि पच्दैन भने हस्त मिलन. तर हस्त मिलनको कल्चर साह्रै चिसो. हात मिलाउनु र ट्वाइलेट पेपरले चाक पुछ्नु मलाई उस्तै लाग्छ. चित्तै नबुझ्ने. एउटा खैरेले अर्को खैरेलाई शङ्काको दृष्टिले हेर्न, हातमा हतियार बोकेर आएको छ कि मार्न, भनेर चेक गर्न बनाएका हुन् हात मिलाउने चलन. अनि भुत्रो आत्मियता हुन्छ त्यसमा. दुश्मनहरुसँग हात मिलाउनु. प्याराहरुलाई ग्वाम्म अँगालो हाल्नु. लाज हुँदैन. केको लाज अँगालो मार्न. कुरा काट्नेहरु काटुन्. बाल ! मान्छेले के भन्छन् भनेर पनि आफैँले सोच्ने हो भने, मान्छेले के सोच्ने फेरि ? काम पाऊन् न कुरा काट्नेहरुले पनि. धन्दा सबको चलोस्. नाम होस्, बदनाम होस्, गुमनाम नहोस्. नलजाउनु है. भर्खर लभ पर्दै गर्दा, फ्लर्ट गर्दा लजाएको त्यो अर्कै कुरा. कसले के भन्ला भनेर चाहिँ कहिले नलजाउनु.

बादल बनाइदेऊ आकार बदल्न सकूँ
क्षमता दिलाई देऊ जिउँदै म जल्न सकूँ…
जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी
चुपचाप सहूँ कसरी आफ्नै बदनामी
सस्तो बनाइदेऊ बजारमा चल्न सकूँ…

यही गीत टिपेर ल्याएँ मैले हालैको यात्राबाट. भनौँ कसैले सुनायो, सुनाउने मान्छे मन पर्यो, अनि गीत पनि मन पर्यो. दीपक खरेल, नीर शाह र शम्भुजीत बास्कोटाको सन्तान. दीपक खरेलका गीत पहिला नसुनेको हैन, मन नपर्ने पनि हैन. आमा सुन्थिन्, दीपक खरेल. उनैले सुनेर सिकेको मैले दीपक खरेलका गीत. तर खै, यो छुटेको रहेछ. ननस्टप सुन्दैछु अहिले पनि. इयरग्याजम हुन छाडेपछि बल्ल अर्को गीत चलाउने हो. अहिलेलाई यसैले दिइरहेको छ सन्तुष्टि. लटरम्म ताराहरु छरिएको आकाशमुनि एउटा चिसो रात यही गीतको न्यानोले काटेँ, मैले यही हप्ता. कसैले बजाएको. मैले मन पराएको. यो भन्दा धेरै अहिले नभनौँ नत्र कुराको यात्राले एउटा हाइवे छाडेर अर्को हाइवे समात्छ. यात्री हुनु ध्यानी हुनु पनि हो, प्रेमी हुनु पनि हो. यात्रा प्रेमको तालिम हो. सूर्यका किरणले काउकुती लागेर हाँसेका हिमालअघि ब्रेकफास्ट गर्दै मैले लेख्न सुरु गरेको, बादल बनाइदेऊ सुन्दै. अहिले रातको साढे दस बजे म हाम्रो आश्रमको ध्यान कक्षमा बसेर ओम् भुर्भुव स्व सुन्दैछु. लेख्दैछु. सामुन्नेमा एउटी फूलजस्ती चित्रकार देवीको तस्बिरलाई जीवन्त बनाउन मिहिनेत गर्दैछिन्.

हिजो राति हामी चार पाँच साथी यिनै निर्माणाधीन देवीको तस्बिरअघि ध्यान गर्दै थियौँ. चार पाँच किन भने कति जना ठ्याक्कै थियौँ भन्ने तय छैन. आँखाले देखिने चार थियौँ. म कुण्डलिनी ध्यान गराउँदै थिएँ, साथीहरुलाई मध्यरातको बाह्र बजे. कसैले ढोकामा ढकढक गरेको आवाज आयो. ढोका खोल्दा बाहिर कोही थिएन. आफ्नो आत्माको शान्ति चाहेको कुनै अशरीरी आत्मा हुनुपर्छ भन्ने लागेर हामीले भन्यौं, “तपाईं जोसुकै हुनुहुन्छ, स्वागत छ. हामी तपाईंलाई जज गर्दैनौं. आउनुहोस्, सँगै ध्यान गरौँ.”

सान्दर्भिक पोस्ट

अनि हामी फेरि ध्यान गर्न बस्यौँ. त्यसैले कक्षमा एक्ज्याक्टली कति जना थियौं भनेर कसरी भन्नु ? आँखाले देखिने हामी चार जना थियौँ. करिब चार घण्टा ध्यान गरेपछि हामीले आँखा खोल्यौँ. साथीहरु आनन्दको लहरमा लहराइरहेका थिए, झुमिरहेका थिए. मैले कस्तो रह्यो त ध्यानको अनुभव भनेर फिडब्याक लिन खोजेँ, साथीहरुले मुखै खोल्न मानेनन्.
जिब्रानले ठिकै भनेका हुन्. हामी तब बोल्छौँ जब हामी हाम्रा विचारहरुसँग पौंठेजोरी खेल्छौँ. सबै विचार शान्त भएको बेला के बोलोस् मान्छे ! ध्यान सकेर हामीले हनुमान चालिसा पाठ गर्यौं र कक्षमा उपस्थित सबै अशरीरी आत्माहरुलाई स-सम्मान बिदा गर्यौं.
हृदयका यस्तै कुरा धेरै छन् तपाईंसँग गर्न मन लागेको, तर अहिलेलाई म आश्रमको ध्यान कक्षमा बन्दै गरेकी हाम्री आराध्या देवीको तस्बिर सामुन्ने बसेर ध्यान गर्न चाहन्छु. म प्राण प्रतिष्ठा गरेर जीवित बनाउँछु यी देवीलाई. देवीको साक्षात् प्रेजेन्स फिल गर्न मन लागे, हाम्रो आश्रममा तपाईंलाई स्वागत छ.

प्रतिक्रिया
Loading...