नेपाली साहित्यको सम्पूर्ण पत्रिका

छाेराले आमा सुधार्ने किताब ‘सुग्गी बेइन’ले जित्याे बुकर

डग्लस स्टुआर्टको ‘सुग्गी बेइन’ उपन्यासले यस पटकको उपन्यास विधामा बुकर पुरस्कार हात पारेको छ ।

कोभिड १९ को आतंकका बीच यो पुरस्कार समारोह सम्पन्न हुन नसके पनि बिबिसी रेडियोको फ्रन्ट रो कार्यक्रमका बीच पुरस्कारको घोषणा गरिएको थियो । यसअघि पुरस्कार समारोह एउटा भव्य पार्टीका बीच वितरण गर्ने गरिन्थ्यो ।

डग्लसको यो पहिलो उपन्यास हो । सन् १९८० को दशकको एउटा केटोले उसकी आमालाई कुलत र गरिबीबाट उकास्न गरेको प्रयासमा यो उपन्यास आधारित छ ।

पुरस्कारकी अध्यक्ष मार्गरेट बस्बीले यो पुरस्कार सुग्गी बेइनलाई दिन निर्णय लिन एक घण्टाभन्दा कम समय लागेको बताइन् ।

२४ वर्षको उमेरमा फेसन डिजाइन पढेर अमेरिका छिरेका ४४ वर्षे उपन्यासकार डग्लसले पुरस्कार पाएको सुन्दा छक्क परेको प्रतिक्रिया दिएका छन् । यो पुरस्कार उनले आफ्नी आमालाई समर्पण गरेका छन् । उनी १६ वर्षको छँदा अल्कोहलिज्म (रक्सीको कुलत)का कारण उनकी आमाको निधन भएको थियो ।

‘यो उपन्यास कालान्तरमा एउटा क्लासिक उपन्यासमा परिणत हुनेमा म पक्का छु,’ पुरस्कारकी अध्यक्ष बस्बीले भनिन्, ‘यो उपन्यास पढ्नु रमाइलो घटना होइन र हुँदैन पनि तर पाठकलाई यसले पढ्दै जाँदा जुन आशा, चुनौती र आत्मियता दिएर जान्छ, त्यो अद्भूत छ ।’

युनाइटेड किङडमको ग्लास्गोमा जन्मिएका उपन्यासकार डग्लस यतिबेला अमेरिकाको न्युयोर्कमा बस्छन् । यो पुरस्कार हात पार्ने उनी दोस्रो स्कटिस हुन् । यसअघि १९९४ मा हाउ लेट इट वज, हाउ लेटबाट जेम्स केल्म्यानले बुकर जितेका थिए ।

फेसन डिजाइनरका रूपमा आफ्नो करियर शुरू गरेका लेखक डग्लसले यो उपन्यास एक दशकअघि नै लेख्न थालेका थिए । समलिंगी यी लेखकले आफ्नो जीवनको ३० वर्षको अवधिमा खेपेका र भोगेका कुराहरूको विरेचन यतिबेला भएको बताएका छन् ।

कोरोनाकालमा यो उपन्यास बजारमा आएको थियो । आउनेबित्तिकै बुकरको लामो सूचीमा परे पनि सूचीको फाइदा भने उपन्यासले पाउन सकेन ।

पुरस्कारबाट पाउने ५० हजार पाउन्डको रकमले अबका दिनमा लेखन यात्रालाई सजिलो हुने अपेक्षा उनले गरेका छन् । उनी आफू जन्मेको ठाउँ फर्कन अब आर्थिक रूपमा सहज हुने आशा गरेका छन् ।

पुरस्कार घोषणा कार्यक्रममा बाराक ओबामा र बेलायती राजकुमार चार्ल्सकी पत्नी क्यामिला सो समारोहमा भर्चुअल रूपमा उपस्थित थिए । यस्तै द रिमेन्स अफ द डेबाट १९८९ बुकर विजेता काजुओ इसिगुरो, गत वर्षका संयुक्त विजेता मार्ग्रेट एटवुड र बर्नडाइन एभारिस्टो पनि कार्यक्रममा सहभागी थिए । बुकर पुरस्कार फाउन्डेसनका निर्देशक गेबी वुड यस वर्ष संयुक्त पुरस्कार नदिनका लागि विशेष चासो लिइएको बताएकी थिइन् । अघिल्लो पटक ५० हजार पाउन्ड रकम बाँडेर दुई विजेतालाई दिइएको थियो ।

पुरस्कारको अन्तिम सूचीमा डायन कुकको द न्यु वाइल्डरनेस, सित्सी डांगेरेम्बाको दिस मर्नेबल बडी, अवनी दोषीको बर्न्ट सुगर, माजा मेंगस्तेको स्याडो किङ र ब्रान्डन टेलरको रियल लाइफ थिए ।

डग्लसले दोस्रो उपन्यास पनि तयार पारिसकेका छन् । ‘लोक अव’ शीर्षकको यो उपन्यास स्कटल्यान्डको पहाडी क्षेत्रको एउटा तालको नाम हो ।

रोचक त के छ भने यो पुरस्कृत उपन्यासलाई ३० जना सम्पादकले अरोचक र अति सामान्य कथा भन्दै सम्पादनका लागि अस्वीकार गरेका थिए । अन्ततः १६२ पुस्तकहरूको प्रतिस्पर्धामा यसले पुरस्कार जित्न सफल भयो ।

प्रतिक्रिया
Loading...