नेपाली साहित्यको सम्पूर्ण पत्रिका

पितृसत्तामाथि धावा बाेल्ने कथाहरू

उमा सुवेदी नेपाली साहित्यमा परिचय गराइराख्नु पर्ने नाम होइन । ‘तोदा’ र ‘इती’जस्ता सफल उपन्यासकी लेखक सुवेदीको अर्को आख्यानात्मक कृतिका रुपमा ‘सयौं पुतली’ आएको हो । यो कथा संगालो हो । त्यसो त पहिला नै उहाँको गजल संग्रह प्रकाशित भइसकेको छ ।

यसभित्र सामाजिक यथार्थवादसँग नजिक रहेर रचिएका सत्र वटा कथाहरु छन् । जहाँ आजको समाज छ, सामाजिक दृष्टिकोण छ, प्रेम छ, वियोग छ । न्याय अन्याय, व्यवस्था अव्यवस्था, रीति कुरीति छन् । यहाँ विभेदका विविध आयामहरु छन् । पार्टीय, जातीय, लिङ्गीय, वर्गीय उत्पीडन र संघर्षहरु छन् । मुख्यतः आजको समाज ‘आफूलाई विकसित र विस्तारित भएँ’ भन्दै कति पाखण्ड र संकुचन लिएर बाँचेको छ, त्यसप्रति कटाक्ष गरिएको छ ।

आजका मान्छेहरु प्रतिस्पर्धात्मक बाँच्छन् । अर्थपूर्ण जीवन जीउन खोज्छन् । यहाँ लैंङ्गीक विभेदजस्ता कुराहरु गौण छन् भन्दाभन्दै पनि पुरुषवादी सोच मान्छेको अवचेतन मनभित्र कसरी जकडिएर बसेको छ ? कसरी प्रेम, संस्कार र समर्पणको नाममा अझै नारीहरुहरुलाई बन्दी बनाउन खोजिन्छ ? ‘उर्दी’ र ‘ढाड’ कथा यसकै आसपास घुमेका छन् । यी वर्तमान पुस्ताका

उमा सुवेदी

कथा हुन् । व्यक्ति व्यक्तिका सबन्ध, सबन्धभित्रको उतारचढाव र अस्तित्वको खोज बीचको टकराव भेटिन्छ यहाँ ।

मान्छेहरु कुन्ठित छन्, दिमागमै लिदी पालेर बाँचिरहेका । त्यसको दुर्गन्धले देशै आक्रान्त छ । हिंसा र बलात्का

रजन्य घटनाहरु बढिरहेका छन् । यसको भयानकता यति भइसकेको छ कि, एकातिर अबका दिनमा छोरीहरुले जन्मन डराउनुपर्ने भएको छ । अर्कोतिर तिनै अपराधीहरुले राजनैतिक संरक्षण पाइरहेका छन् । निर्मला बलात्कार तथा हत्या प्रकरणजस्ता घटनाहरु यसका वास्तविक उदाहरण हुन् । यस्तै पीडा बोल्छ ‘अर्को देश’ कथाले ।

 

‘बेलुन’, ‘रोग’ र ‘प्रतिबिम्ब’ पनि महिला हिंसा सम्बद्ध कथा हुन् । यसमा पुरुष अहंका अनेक स्वरुपहरु छन् । यो समाज महिलालाई अगाडि जान त दिँदैन दिँदैन, सँगै हिँड्न खोज्दा पनि अँगालो मारेजस्तो गरेर कुम थिचिरहन्छ, जुन यथार्थलाई कथाले व्यक्त गरेको छ ।

‘बेसुर’, ‘लालपुर्जा’ र ‘हसियाँ’ राजनीतिक कथाहरु हुन् । त्यहाँ द्वन्द्वका घाउहरु असरल्लै छन् । वर्ग संघर्षको उठान छ । मान्छे बाहिर सफल भएतापनि परिवारभित्र असफल भएको दृष्टान्त छ । नाम, पेशा, पदवी अथवा शासन सत्ता फेरिदैमा आम मान्छेका भोगाइहरु नफेरिएको सत्यता छ । बडो दुख्ने कुरा, प्रबुद्ध वर्ग मानिने लेखकदेखि देश हाँक्ने नेतासम्म सबै कति भ्रष्ट छ्न् ? यिनीहरूको महिलामाथिको दृष्टिकोण कति दयनीय छ ? कथामा प्रश्न छ, आक्रोश छ । एक किसिमले व्यङ्ग्य कथाहरु हुन् यी ।

‘मायादिदी’ परिबन्धको कथा हो । अल्लारे उमेरको प्रेम र त्यसले जन्माएको जटिलता उधिनिएको यो कथाले बिपी कोइरालाको बाबु, आमा र छोराको हल्का यााद दिलाइदिन्छ ।

लाग्छ, कथाकारले यो सामाजको नाडी राम्रैसँग छाम्नु भएको छ, विशेष निम्न–मध्यम वर्गीय जनजीवनको । त्यहाँ एउटा कथा छ ‘गोपे’ । गोपे एक अजीवको पात्र, संवेदना भएर पनि संवेदनाहीन, सचेत भएर पनि अचेत । उसकै वरिपरि घुमेर समाजिक धूर्तता उदाङ्गो गराउन सफल छ यो कथा । संविधान जारी गरिएको उज्यालो दिनमा घटित अँध्यारोको कथा हो, ‘संविधान’ । एकदमै मार्मिक कथा छ यो । समाजको दोहोरो चरित्र र खोक्रोपनको चिरफार छ यहाँ । नारी जीवनमा बच्चाको महत्त्वलाई पनि ‘गोपे’ र ‘संविधान’ दुवै कथाले दर्शाएका छन् ।

‘अनुत्तरित’ फरक किसिमको कथा हो । मध्यम वर्गीय परिवार, जीवन निर्वाह र दायित्व बोधको तुनाबुना तथा दिदीबहिनी बीचको स्नेहप्रेम छ यहाँ ।

त्यस्तै अर्को कथा छ ‘साउदी’ । यो घरघरको कथा हो । जहाँ जीजिविषाको खातिर जोडीहरु छुट्टिएका छन् । उमेर छ, रहर छ तर साथ छैन । यसो हुँदा मान्छेको मन भाडिँन्छ, चित्त दुख्छ, सपनाहरु अलपत्र पर्छन् । यौन मनोविज्ञानसँग नजिक रहेर लेखिएको कथा हो यो । मनोविज्ञानमै आधारित अर्को कथा हो, ‘कथावाचक’ । बालबालिकालाई के भन्नुहुन्छ र के भन्नुहुन्न ? सचेतताको उद्घोष गर्छ यो कथाले ।

विद्या सापकोटा

‘प्रश्न’ र ‘सयौँ पुतली’ विम्बात्मक कथा हुन् । यहाँ जातीय विभेद माथिको कटाक्ष त छँदैछ । सधैँको उत्पीडनले मान्छेको मनस्थिति कस्तो बन्न पुग्छ ? ऊ नदेखाइकन पनि कसरी विद्रोह गरिरहेको हुन्छ? कथाले सप्रसङ्ग व्याख्या गरेको छ । ‘सयौँ पुतली’ शीर्षकथा हो ।

कथाहरु पढ्दै जाँदा अलि ज्यादा नै महिला केन्द्रित भएको हो कि जस्तो लाग्छ । कतैकतै स्वतन्त्रतामा अलि धेरै नै जोड दिएजस्तो अथवा सम्बन्धलाई एकदम खुकुलो रुपमा हेरिएको जस्तो पनि लाग्न सक्छ । तर यत्तिले कृतिलाई कमजोर हैन, अझ बलियो बनाएको छ । कथामार्फत् लेखकले आवाजविहीनहरुको लागि ऊर्जा त दिनुभएकै छ, ‘महिला लेखन कमजोर हुन्छ’ भन्नेहरुलाई गतिलो जवाफ पनि हो यो । यसर्थ यसलाई स्व–अस्तित्वको दाबी पनि भन्न मिल्ला । ‘के तपाईंको आधुनिकतालाई तपाईंको आचरणले पुष्टि गरिरहेको छ त ?’ हाम्रो नैतिकता र नियत माथिको सिधा प्रश्न पनि हो यो ।

अतः सरल वाक्य गठन, मीठो भाषा शैली लेखकका विशेषता हुन् भने सामान्य विषयवस्तुमा पनि गहिरो पकड, प्रस्तुतिमा विविधता लेखनका शक्ति । कथाहरु सबल छन्, पात्रहरु जीवन्त छन्, घटनाक्रम सलल बगेको छ ।

प्रतिक्रिया
Loading...