नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भाइटीकामा दिदीबहिनी नहुनेहरुको पीडा

तिहार नेपालीहरुको दोस्रो महान् पर्व हो । दशैंपछि यो पर्व निकै धुमधामले मनाइन्छ । यस पर्वमा घर सिंगार्ने, झिलिमिली बत्तीहरु बाल्ने गरिन्छ । यस पर्वमा पर्ने चाडहरुमा लक्ष्मी पूजा, म्हः पूजा र भाइटीका विशेष महत्त्वका चाडहरु मानिन्छन् । यस पर्वमा दीपावली गरेर धूमधामले लक्ष्मीको पूजा गरिन्छ । तिहारलाई रङहरुको चाड, फूलमालाको चाड पनि भनिन्छ । तिहारका चाडहरुभित्र पर्ने भाइटीका खासगरी दिदीबहिनी र दाजुभाइको पर्व हो ।

पुराना कथनअनुसार यमराजले धेरै समयपछि आफ्नी बहिनी यमुनालाई भेट्न जाँदा बहिनी अत्यन्तै हर्षविभोर भएर आफ्ना दाजुलाई फूलमाला, टीका लगाइदिनुका साथै अनेक परिकार, मेवा, मिष्ठान्न खुवाई आफ्नो दाजुको सुख समृद्धिको कामना गरेकी थिइन् । उनले आफूले जस्तै सबै दिदीबहिनीहरुलाई पनि आफ्ना दाजुभाइहरुलाई टीका, माला लगाई दाजुभाइको सेवा सत्कार गर्न अनि दाजुभाइको दीर्घायूको कामनासमेत गर्न अनुरोध गरेकी थिइन् । त्यसपछि भाइटीकाको प्रचलन चलेको पाइन्छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई पानी, तेलले छेकेर परिक्रमा गर्ने, कान–कपालमा तेल लगाइदिने, सप्तरंगीका टीका लगाइदिने, सयपत्री र मखमलीका सुन्दर माला पहिर्‍याइदिने, सेलरोटीसहितका विभिन्न परिकारका मेवा मिष्ठान्न अर्पण गर्दछन् र आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछन् । त्यसैगरी दाजुभाइहरुले आफ्नो गच्छेअनुसारको दान–दक्षिणा प्रदान गर्दछन् । यस पर्वले दाजुभाइ दिदीबहिनीहरुबीचको सम्बन्ध अझ सुमधुर, आत्मियता, मिठास र घनिष्ठता बनाउँदछ । दाजुभाइ-दिदीबहिनीको भेट पनि भाइटीकाले गराउँछ ।

तीज, दशैंलगायत अन्य चाडपर्वमा विविध कारणले माइत जान नपाएका दिदीबहिनीहरु भाइटीकामा माइत जान पाउने आशामा वर्ष दिन बिताउँछन् र भाइटीका नजिकिँदै गएपछि माइत जाने दिन गन्दै औंला भाँच्न थाल्छन् । भाइटीकामा माइत जान नपाउने दिदीबहिनीहरु चित्त आकुल गर्दै नमीठो मुद्रामा बस्न बाध्य हुन्छन् । माइत जान पाएका दिदीबहिनीहरु भने आफूलाई भाग्यमानी पनि ठान्ने गर्दछन् ।

सान्दर्भिक पोस्ट

रुकुम

आजको वर्तमान परिवेशको समाजमा छोराछोरीलाई समान व्यवहार गर्ने र समान ठान्ने गर्न थालिएको पाइन्छ । यद्यपि छोराको चाहना राख्ने र छोराको रहरमा थुप्रै छोरी जन्माउने दम्पतिको संख्या पनि कम भने छैन तर छोरा नै जन्माउनुपर्छ भन्ने मान्यतामा कमी आइरहेको पनि देख्न सकिन्छ । छोरीलाई लक्ष्मीको प्रतीकको रुपमा ग्रहण गर्दै हाम्रो समाजमा छोरी जन्माउने घर रमणीय मात्रै नभएर लक्ष्मीको घर पनि भन्ने ठानिन्छ । छोरी नहुनेहरुको घर एक किसिमको शून्य र खल्लो खालको महसुस गर्नेहरुको संख्या पनि कम छैन । विशेष गरी तीज र भाइटीकामा दिदीबहिनीहरुको उपस्थितिले घर रमणीय र उज्यालो महसुस हुने गर्दछ ।

भाइटीकामा दिदीबहिनी नहुने दाजुभाइहरुको पीडा भने फरक खालको हुँदोरहेछ । मेरो परिवारमा दिदीबहिनीहरुको अभाव वर्तमानमा मात्रै महसुस नभएर हजुरबुवा, बुवाको पालादेखि छोराहरुको पालासम्म खड्किइरहेको महसुस भएको छ । मेरा बुबााको पनि दिदीबहिनी थिएनन् । कुनै आफन्त दिदीलाई फुपू बनाएर बुबाले टीका लगाउनु भएको सम्झना अझै ताजा छ । काका, जेठाबा पनि उनै दिदीको हातबाट टीका थाप्ने गर्नुहुन्थ्यो । उहाँहरु कसैले पनि आफ्नो दिदीबहिनीको हातबाट भाइटीकामा टीका थाप्न पाउनु भएन । जेठाबा र काका बितिसकेपछि फुपू दिदी बुढेसकालसम्म लट्ठी टेक्दै तिहारमा बुबालाई टीका लगाइदिन आउनुहुन्थ्यो र मेरा बालाई टीका लगाइदिनु हुन्थ्यो । बाको शेषपछि भने फुपू दिदीको आगमन पनि बन्द भयो । वर्ष दिनमा एकपटक देखिने दिदी पनि अब हाम्रो परिवारले देख्न छोड्यो । हामी सानै थियौँ । दिदी आएपछि हामी उनको वरिपरि झुम्मिन्थ्यौं । दिदीले सेल बनाउँदा हामी अँगेना वरिपरि बसेर हेरिरहन्थ्यौं र ताता रोटीको आनन्दमा रमाउने गर्थ्यौं । कुनै वर्ष दिदीले सोलीभरि सेलरोटी र पुङभरि रक्सी बोकेर ल्याएको पनि अझै याद आउने गर्छ । बाल्यकालका ती मीठा पलहरु अझै पलपलमा उब्जिन्छन् ।

केही दिदीबहिनीले भाइटीका लगाइदिने प्रस्ताव नराखेका होइनन् तर अनेकन् कारणले त्यो सफल नहुँदा तिहार सधैँ खल्लो समय बोकेर आइदिँदोरहेछ ।

पदम विश्वकर्मा

बाआमाको कोखबाट पनि हामी तीन दाजुभाइ पैदा भयौँ । दिदीबहिनीको रहरमा बाआमाको जीवन परमधाम भयो । जेठा दाइ, माइला दाइ र म कान्छो । हामी तीन भाइ मात्रै भयौँ, हाम्रा दिदीबहिनी भने हुन सकेनन् । दिदीबहिनीको माया ममतालाई हामीले नजिकबाट अनुभूत गर्न समेत पाएनौं । ती सुन्दर पलहरु चुम्न पाएनौं । दिदीबहिनीको महत्त्वलाई सिरोपर गर्दै बाआमाले कान्छा बुबाकी छोरीलाई बाल्यकालदेखि नै आफ्नै घरमा पालनपोषण गर्नु भो, हुर्काउनु भो, बिहेदान गरिदिनु भो र घर माइत गराउनु भो । दिदीलाई आफ्नो बाआमाको अभावको महसुससमेत हुन दिनु भएन । काकाकाकीले दिदीलाई सानै उमेरमा छाडेर परलोकगमन हुनुभएको थियो । शायद आफ्नै छोरीको अभावको परिपूर्ति गर्न र टुहुरी छोरीको जीवनमा साथदिन पनि कान्छा बुबाकी छोरीलाई आफ्नै छोरीको रुपमा स्वीकार गर्नुभएको थियो । हामीले दिदी र बहिनीको रुपमा पायौं, अगाध स्नेहभाव प्रकट गर्‍यौं, मायाममता प्रकट गर्‍यौं, दिदीलाई आफ्नै दिदीको रुपमा व्यवहार गर्‍यौं सधैं । दिदी सात समुद्र पारि छन्, चाहेर पनि टीका लगाउन सम्भव छैन ।

हरेक वर्ष तीज र अन्य चाडपर्वमा दिदीलाई लिन गयौँ, तिहारमा भाइटीका लगायौँ र रमायौँ पनि । ती दिनहरु अझै मनमष्तिष्कमा मीठा पलका रुपमा टाँसिएका छन् । हाम्रा उमेरका पदचापसँगै वर्षहरु पनि छिप्पिदै गए । पढाइ, कामकाजको सिलसिलामा काठमाडौंतिरै बिते समयका रेखाहरु । दिदी तिहारमा कुनै वर्ष बिराएर उदाउन थाल्नु भयो । दिदी आउने आशामा म काठमाडौंदेखि दिदीको हातको टीका लगाउन गाउँ जाने गर्थें । दिदी आएको वर्ष रमणीय अनुभूति भयो, हाम्रो घर आँगन रमाइलो अनुभूत भयो । दिदी नआएको वर्ष खिन्न मन लिएर काठमाडौं फर्कन बाध्य हुनुपर्‍यो । केही वर्ष यस्तै किसिमबाट तिहार बित्न थालेपछि म पनि तिहारमा गाउँ जान छाडेँ । शायद, मलाईजस्तै दाइहरुलाई पनि उस्तै नरमाइलो महसुस भयो होला पक्कै । अमेरिका आगमनपश्चात् त तिहारमा गाउँ जाने र दिदीको हातबाट भाइटीका लगाउने चाहना भएपनि सम्भव भएन र आशा पनि टुट्यो ।

विदेश बसाईको क्रममा एकाधबाहेक अधिकांश दाजुभाइका दिदीबहिनी नेपालमै छाडिएका हुन्छन् । दिदीबहिनी भएर पनि भाइटीकाको दिन तिनीहरुको मन कुँडिएको हुन्छ नै । कयौंले नजिकका दिदीबहिनीलाई आफन्त बनाएर उनीहरुको हातबाट भाइटीका ग्रहण गर्ने पनि प्रशस्त देखिन्छ । ती सबै सम्बन्धहरु जीवन्त रहन सक्छन् अथवा भाइटीका लगाउन ती सम्बन्धहरु सदैव जुट्छन् भन्न पनि सकिँदैन । जुटेपनि आफ्नै कोखका दिदीबहिनीको जस्तो प्रेमपूर्ण महत्त्वका साथ भाइटीका लगाउने नहुन पनि सक्छ । शुरुशुरुमा रमाइलो भएपछि केही समयको अन्तरालपछि ती रमाइलोपन बाध्यता र करकापमा परिणत हुन पुग्छन् ।

हामीबाट पनि सन्तानका रुपमा दुई छोराहरु पैदा भए । परदेशको ठाउँमा रोजीरोटी, कामको व्यस्तता आदिले त्यसतर्फ सफल हुन सकिएन । छोरीको रहर हुँदाहुँदै पनि र चाहेर पनि ती इच्छाहरु पूरा हुन सकेनन् । हाम्रोमा पनि तीज, तिहार हाम्रा बुबाका पालाजस्तै शून्यमा बित्ने गर्छन् । तीज आउँछ, तिहार आउँछ तर चेलीहरु आउँदैनन् ।

हरेक वर्ष भाइटीका अर्थात् तिहार आएपछि मेरो मन खल्लो हुँदै आउँथ्यो । धर्मकर्ममा त्यति विश्वास नराखे तापनि तिहार एककिसिमको सांस्कृतिक र सम्बन्धको पर्व हो । यसमा दिदीबहिनीसँगको भेटघाट र सम्बन्धले विशेष महत्त्व राख्ने गर्दछ । दिदी बहिनीहरुको भिडभाड असन, रत्नपार्क, इन्द्रचोकका गल्लीभरि देख्नपाइन्थ्यो । गल्लीहरु दिदीबहिनीका राता साडीले रंगीन देखिन्थे । सयपत्री र मखमलीका मालाहरु उन्नमा र किन्नमा व्यस्त देखिन्थे दिदीबहिनीहरु । टीका लगाउन दिदीबहिनीहरु शहरबाट गाउँगाउँ पुग्थे भने दाजुभाइहरु पनि शहरबाट गाउँ पुग्थे । गाउँघर रमाइलो र आनन्दपूर्ण हुने गर्थ्यो भने काठमाडौं शहर शून्यतामा परिणत हुने गर्थ्यो । आफ्नो भने तिहार आउँथ्यो र नमीठो छाप छाडेर जान्थ्यो । खाली निधार, खाली गला र दिदीबहिनी बिनाको सुनसान घर लाग्थ्यो । निधारमा सप्तरंगी टीका र गलाभरि माला पहिरिएर हिँडेका दाजुभाइहरु देखेर एक किसिमको डाह पनि लाग्थ्यो र निराश पनि उत्तिक्कै । मनमनै आफूलाई अभागी ठान्नुबाहेक अरु विकल्प पनि के नै थियो र ? विवाहपश्चात् भने श्रीमतीले जेठानहरुलाई टीका लगाइदिँदा फोटो खिचेर बस्ने र उनीहरुलाई टीका लगाइरहेको टुलुटुलु हेरेर मेरो तिहार बित्ने गर्न थाल्यो । यस वर्ष परिवारले चोट सहनु पर्‍यो त्यसैले श्रीमतीको पनि तिहार थिएन । विगतका वर्षहरुजस्तो टीका त यसै पनि थिएन, न त फोटो खिच्न पाइयो न टीका लगाएको हेरेर चित्त बुझाउन नै पाइयो ।

भाइटिकामा टीका लगाइदिने धेरै प्रस्ताव नआएका होइनन् । केही प्रस्ताव स्वीकार पनि गरेँ । धेरै त हुन्छ नि भनेर आलटालमा बिताएँ । टीका लगाउन स्वीकार गरेका प्रस्तावहरु पनि विभिन्न कारणवश दीर्घकालीन हुन सकेन । अचेल आउने प्रस्ताव पनि त्यस्तै लागेर भैगयो भन्न मन लाग्छ । तीमध्ये केही दिदीबहिनीले भने भाइटीकाको दिन फोन गरेर शुभकामना दिन्छन् । तिनै शुभकामनाले पनि टीका लगाउन नपाए पनि धेरै खुसी तुल्याउने गर्छ, मन उज्यालो पार्ने गर्छ । आफ्नो लागि यही हो तिहार भन्ने पनि लाग्छ यदाकदा ।

विदेशको बसाइ भए पनि मन त नेपाली नै हो, भावना पनि नेपाली नै, चाडपर्व पनि नेपालकै मनाइन्छ । तर नेपालमा दिदीबहिनीहरु माइत जाँदाको सुखानभूति, आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाउन पाउँदाको सुखानुभूतिले फेसबुकका पाना भरिन्छन् । ती तस्बिरहरु देखेर आफू भाइटीकामा पनि खाली बस्नुपर्दाको पीडाले मन कुँडिएर आउँदोरहेछ ।

यसपटक स्वदेश तथा विदेशमा तिहार र भाइटीका भने फरक किसिमबाट मनाइएका छन् । दिदीबहिनी हुने दाजुभाइहरुसमेत निधार खालीमा बस्न बाध्य बन्नु परेको छ । कोरोनाको बिगबिगीले यात्रामा निस्कनु पर्ने दिदीबहिनीहरु टक्क रोकिनु परेको छ । स्वदेश तथा विदेशमा रहने दाजुभाइहरुको यात्रा अवरुद्ध भएका छन् । चाहेर पनि भाइटीकामा दिदीबहिनी र दाजुभाइ जुट्न पाएका छैनन् ।

विदेशको बसाइ भए पनि मन त नेपाली नै हो, भावना पनि नेपाली नै, चाडपर्व पनि नेपालकै मनाइन्छ । तर नेपालमा दिदीबहिनीहरु माइत जाँदाको सुखानभूति, आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाउन पाउँदाको सुखानुभूतिले फेसबुकका पाना भरिन्छन् । ती तस्बिरहरु देखेर आफू भाइटीकामा पनि खाली बस्नुपर्दाको पीडाले मन कुँडिएर आउँदोरहेछ । शायद, यस्तै पीडा आफ्ना दिदीबहिनी नहुने र भएर पनि भाइटीका लगाउन नपाउने थुप्रै दाजुभाइहरुलाई अनुभूति हुन सक्छ। त्यसैले तिहार बत्ती र फूलहरुको सुन्दर चाड भएर पनि मनभरि अँध्यारो छाडेर जाने गर्दछ । विगतका वर्षहरुजस्तै यस वर्षको भाइटीका पनि नमीठो यादहरु बोकेर बिदा भयो । समयअनुसारका आवश्यकता भनेझैँ दाजुभाइ मात्र भएर पनि जीवन आनन्दी बन्न नसक्ने रहेछ । दाजुभाइको साथमा दिदीबहिनीको पनि उत्तिक्कै महत्त्व रहेछ हाम्रो जीवनमा ।

प्रतिक्रिया
Loading...