नेपाली साहित्यको सम्पूर्ण पत्रिका

युद्ध साहित्यको फ्रेममा सजिएको ‘पल्टनेको फोटो’

रक्ष राई नेपाली साहित्यजगतमा नौलो नाम होइन । कथा लेखनमा उनको विशेष दख्खल रहेको पाइन्छ । यसअघि ‘शहीदकी आमाको लास’ र ’बालुवामा अर्को नेपाल’ कथासङ्ग्रह प्रकाशन गरेर एक उच्च कथाकारको सूचीमा आफूलाई स्थापित गराइसकेका छन् । यसपल्ट रक्ष ’पल्टनेको फोटो’ कथासङ्ग्रह लिएर आएका छन् । यस सङ्ग्रहलाई सङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।

‘पल्टनेको फोटो’लाई साहित्यको फ्रेमभित्र मज्जाले सजाइएको छ, पाठकले आफ्नो मनमस्तिष्कको भित्तामा सजिलै झुन्ड्याएर राख्न सक्ने गरी । यसलाई एक गोर्खा पल्टनेले आफ्नो जीवनका विभिन्न कालखण्डमा खिचेर राखेका फोटोहरू हुन् भने पनि हुन्छ । सङ्ग्रहमा सत्रवटा कथा छन् । यसर्थ यो सत्र किसिमका लाहुरेका फोटाहरू समेटिएको एउटा फोटो एल्बम हो कि भन्ने पनि लाग्छ । यस हिसाबले रक्ष एक कुशल फोटोग्राफर जस्तै देखिन्छन् ।

अर्को दृष्टिकोणबाट हेर्दा रक्ष एक दक्ष आर्टिष्ट हुन् कि भन्ने भान हुन्छ । यसभित्रका कथाहरूलाई पढ्दा लाग्छ, विभिन्न सैन्य अनुहारलाई चित्रमा उधृत गर्दै युद्ध, पल्टनघर, विकृति र विसंगति, डायस्पोरा, पीडा, बिछोड, रोमान्स, वेदना, अहंकार इत्यादिका फ्रेममा सजाएर साहित्यको ग्यालरीभित्र प्रदर्शनमा राखिएको छ । एक चित्रकारले आफ्नो प्रत्येक आर्ट–पिसलाई मूर्त अमूर्त शीर्र्षक दिएको हुन्छ । रक्षले पनि सैन्य जीवनलाई प्रतिबिम्बित गर्ने ती आफ्ना आर्ट–पिसलाई मेरी स्वास्नीको लोग्नेसँग, आत्मभत्सर्ना, अहंकार, टोम पाइपरको एक साँझ, गृहबन्दी, वधशालामा बुढो मजदुर, पुरुष वेश्यालय, पल्टनेको फोटो, छुटेको साथी, बत्ती निभेपछि, गोर्खा, अष्ट्रियाली फूल, राइफलम्यान यवहाङ, शहरको केटो, मरेको बाघ, बाटोको ढाकर, केयर होम भनेर शीर्षक दिएका छन् ।

सान्दर्भिक पोस्ट

प्रदर्शनमा टाँगिएका चित्रलाई एक दर्शकले कसरी हेर्छ, उसको आफ्नै सोचाइमा भर पर्ने कुरा हो । ’पल्टनेको फोटो’भित्रका कथारूपी फोटाहरू हेरेपछि रक्षको लेखनकलामा विशेष पृथकता पाइन्छ । कथाहरू कलात्मक शब्दहरूले निर्माण गरिएका छन् । घटनालाई दर्शनको बाक्लो लेप लगाइएका छन् । कथाकार स्वयम् नवचेतनाग्रह, युद्धसौन्दर्य र डायस्पोरा साहित्य सिद्धान्तका प्रवर्तक रहेकाले यस्ता दर्शन र सिद्धान्त कथामा नझल्किने कुरै भएन । चित्रकला अति अमूर्त कोरियो भने बुझ्न गाह्रो हुन्छ । रक्षका कथाहरू पनि प्राय अमूर्त चित्रकलाजस्तै भएर पाठकका आँखासामु रहस्यमय भएर उदाउँछन् । यसो हुनुको कारण रक्षका कथामा सायद घटनाभन्दा अलि बढी नै दर्शन र विचार हावी हुनाले हुनसक्छ । यसो हुँदा सर्वसाधारण पाठकलाई कथाहरू पूर्णरूपमा बुझ्न सजिलो नहोला तर पूर्ण मनोरञ्जन भने अवश्य मिल्छ ।

भाषागत रूपमा कथाभित्र अङ्ग्रेजी शब्दहरूको मिश्रण पाइन्छ । लामो समयदेखि रक्ष स्वयम् एक बेल्पाली (बेलायती नेपाली) भएको नाताले यस्तो भएको हुनसक्छ । जसरी भारतमा बस्ने नेपाली लेखकको सिर्जनामा हिन्दी भाषा मिसिएको हुन्छ, त्यसैगरी बेल्पाली लेखकको लेखाइमा अङ्ग्रेजी शब्द मिसिनुमा कुनै आपत्ति हुनुहुँदैन । अङ्ग्रेजी मूल्य र मान्यताका शब्दलाई नेपाली भाषामा अनुवाद गरेर आफ्नो लेखनमा राख्दा तिनले ठेट अर्थ दिँदैनन् । यी कथामा बरु ती अङ्ग्रेजी शब्दले भाषिक विविधता जन्माइदिएका छन् ।

फोटोले होस् या चित्रले एउटा कुनै विषयलाई प्रतिबिम्बित गर्छ । यस सङ्ग्रहभित्रका कथाहरूले मुख्य त सैन्य अर्थात् लाहुरे जीवनलाई नै प्रतिबिम्बित गरेको पाइन्छ । यसर्थ यो एउटा युद्ध साहित्यको स्वरूप हो । युद्ध साहित्यको परिभाषाअनुसार युद्धपूर्व, युद्धरत र युद्धपश्चातका अवस्था समेटिएर लेखिएका सिर्जना युद्ध साहित्यभित्र पर्छन् । रक्षका कथाहरू भर्ती भएर जाँदा, ब्यारेकभित्र रहँदा, सैन्य अभ्यास गर्दा, युद्धमा सामेल हुँदा र निवृत्त भएपछिका जीवनभोगाइमा केन्द्रित छन् । भौगोलिकताको हिसाबले कथामा नेपाल त हुने नै भयो मलेसिया, हङकङ, बेलायत पनि समेटिएका छन् । त्यसैगरी फकल्यान्ड, बोस्निया, कोसभो, इराक, अफगानिस्तानका भौगोलिक परिवेशलाई पनि छुटाइएको छैन । पाठकहरूले यी ठाउँका बारेमा सुनेका हुन सक्छन् तर पुगेका भने नहुनसक्छन् । तर कथाहरू पढ्दै जाँदा हङकङको कोलाहल, फकल्यान्डको चिसो, अफगानिस्तानको तातो परिवेशमा आफू स्वयम् पुगेजस्तो अनुभूति गर्न सकिन्छ । यसको अतिरिक्त सैन्य तथा उसका आफन्तका पीडा, युद्धको कुरूपता र सौन्दर्यता, गोर्खा भर्तीका अँध्यारा पाटा, प्रवासी नेपाली हुनुका वेदना, नेपाली डायस्पोरिक जीवनभोगाइका तितामिठा पल, नारी संवेदना इत्यादिका रसस्वादन पनि यी कथाहरू पढेपछि गर्न पाइन्छ ।

कथाकारले कथामा प्राय आफ्नै जीवनभोगाइका कुरा उजागर गरेको हुन्छ । यस्ता कथा नै यथार्थपरक हुन्छन् । रक्ष स्वयम् पूर्व गोर्खा सैनिक हुन् । आफूले सैनिक जीवनमा भोगेका क्षणहरूलाई साहित्यको उत्कृष्ट जलप लगाएर कथाको रूपमा पस्केका छन् ।
त्यसैगरी कथाकार एक पुरुष हुन् । तथापि ’पल्टनेको फोटो’ र ’केयर होम’जस्ता केही कथाहरूमा आफूलाई नारी पात्रमा प्रस्तुत गरेर नारी संवेदनालाई रोमाञ्चित ढङ्गले चित्रण गरेको पाइन्छ । यस्ता केही कथाहरूलाई कथाकारको नाम र लिङ्ग नखुलाई पाठकलाई पढ्न दिइयो भने एक महिलाले लेखेको कथा भनी ठान्ने छन् । यसरी केही कथाहरूमा फ्रायडवादलाई पस्कँदै नारी संवेदनालाई अभिव्यक्त गर्न सक्ने उत्कृष्ट कलालाई रक्षको एक विशेषता मान्न सकिन्छ ।

पुछारमा, यस सङ्ग्रहभित्रका मन छुने कथाहरू पढेर पाठकलाई यस सङ्ग्रहले कतै मदन पुरस्कार जस्तो राष्ट्रिय स्तरको पुरस्कार पाउला वा पाउनुपर्ला भनेर कौतुहल जाग्न सक्छ । यस्तो सम्मानको कल्पनाको मूल कारण यसभित्रको नवीनतम विषयवस्तु हुनसक्छ । त्यो नवीनतम विषयवस्तु भनेको युद्ध, सैन्य, लाहुरे, अथवा पल्टनीया पारिवेश हुन् । नेपालमा लाहुरेको गाथा दुई सय वर्षभन्दा पुरानो छ । यसले हाम्रो समाजमा लाहुरे इतिहास, संस्कार र संस्कृति स्थापित गरिसकेको अवस्था हो । हाम्रा गाउँघरमा बरु मास्टर नभएका टोल होलान्, तर लाहुरे नभएका टोल हुँदैनन् । हाम्रा लोक गीतसङ्गीतमा लाहुरे जनजीवनलाई प्रशस्तै मात्रामा प्रस्तुत गरिए तापनि नेपाली साहित्यमा विरलै लेखिएको पाइन्छ । यसअघि लाहुरे समुदायका बारेमा केही साहित्यिक पुस्तकहरू नछापिएका होइनन् । तर यो कथासङ्ग्रहजस्तो उत्कृष्ट रचना न त यसअघि आए न त निकट भविश्यमा नै आउने छन् ।

’दमिनी भीर’ उपन्यासलाई मदन पुरस्कार प्रदान गरेर पहिचानवादी साहित्य लेखनको सम्मान गरिसकिएको छ । त्यसैगरी ’पल्टनेको फोटो’लाई सम्मान गरियो भने विश्वमा नेपाल चिनाउने गोर्खाली समुदायको सम्मान हुन्थ्यो कि ? अनि ती वीरगति प्राप्त बहादुर गोर्खा सैनिकको आत्मप्रति सच्चा श्रद्धान्जली अर्पण हुन्थ्यो कि ?

यस सङ्ग्रह राष्ट्रिय स्तरको पुरस्कारद्वारा सम्मानित हुनुपर्छ भन्ने सवालमा अर्को तर्क के हुनसक्छ भने, यसले नेपाली डायस्पोराको विषयलाई अति नै सान्दर्भिक र रोचक तरिकाले उठान गरेको छ । नेपाली साहित्य सिर्जना प्रकाशनको सम्भवत एकतिहाइ भाग आजकल प्रवासमा बस्ने नेपाली लेखकले गरेका हुनसक्छन् । भारतीय– नेपाली, भुटानी–नेपालीदेखि लिएर बेलायत, अमेरिका, युरोप, खाडी मुलुक, पूर्वी एशियन मुलुक र अष्ट्रेलियामा बस्ने हजारौँ नेपाली लेखकले वर्षेनि सयौँ पुस्तक प्रकाशन गर्दै आएका छन् । यति हुँदाहुँदै पनि नेपाली डायस्पोराका कृतिलाई राष्ट्रिय स्तरका पुरस्कारले सम्मान गरिएको पाइँदैन । गोर्खा सैनिक स्वयम् डायस्पोराका नेपाली हुन् । इन्डिया, हङकङ, ब्रुनाई, सिगापुर, बेलायतजस्ता राष्ट्रमा लाखौँ गोर्खा सैनिकको बसोबास छ । यो कृति ती डायस्पोरामा रहँदै आएका नेपाली समुदायका बारेमा रहेको छ । यसका रचयिता रक्ष राई पनि एक डायस्पोराका नेपाली सर्जक हुन् । त्यसर्थ यस पुस्तकलाई सम्मान गरिनु ती सम्पूर्ण डायस्पोरिक नेपाली लेखकको सम्मान गरिनु हुने छ । फलस्वरूप डायस्पोराका अन्य नेपाली लेखकलाई पनि ठूलो प्रेरणा मिल्ने छ ।

यस सङ्ग्रहभित्रका मूल पात्र–गोर्खालीको मानमर्यादा बेलायतमा जस्तो अन्य कुनै पनि देशमा छैन । यस्तो सन्दर्भमा यस कथाकृतिलाई अङ्ग्रेजीमा अनुवाद गरेर प्रकाशन गरिनुपर्छ । ’पल्टनेको फोटो’को अङ्ग्रेजी भाषामा संस्करण आयो भने नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नमा ठूलो योगदान पुग्ने छ । र अन्त्यमा नेपाली पाठक मात्रै होइन, अङ्ग्रेजी पाठक पनि यस कथासङ्ग्रह पढेर लाभान्तित हुने छन् ।

प्रतिक्रिया
Loading...