नेपाली साहित्यको सम्पूर्ण पत्रिका

प्रख्यात लेखकको पहिलो कथाः चोर

चीसो बतास चल्यो । अलि अलि गरेर संसार अँध्यारो देखिन थाल्यो । रामे निरुद्देश्य मालिकको ढोकामा उभिइरहेको थियो । कता जाने, के गर्ने भन्ने समस्याले उसको मन र मस्तिष्कलाई गोलमाल गर्न थाल्यो । आज उसको मालिकले उसलाई चोर दोष लगाएर घरबाट निक्लने आज्ञा दिएका थिए । वास्तवमा रामे चोर थियो वा थिएन, यो कुरो अलग्गै रहोस् । ऊ त्यही घरमा जन्म्यो, बढ्यो र एक मानो खानवर्न मजासित पुगेकै थियो । चोर्नुपर्ने जरुरत त फेरि केही थिएन । तर के गर्नु र ? उसलाई दोष लगाइहाले !

मानिस त शंका गर्दा हुन् नै, हेर्दा ठिटो छ, टप्प टिप्यो होला पनि, के बेर ! तर रामेसित आफ्नो चोरीको सबूत माग्ने हौसला थिएन । त्यो पनि मालिकको अगाडि । उसलाई आमाले भनेको कुरा अझै याद छ, ‘बाबु, मालिक भनेका देउता हुन् । आफ्नो हर्ताकर्ता सब उनै हुन् । त्यसैले उनले भनेका एक दुई वचन हामीले सहनै पर्छ । हो न हो, रामेले पनि आफ्नो चोरीको सबूत माग्ने कुनै चेष्टा गरेन । सरासर शिर निहुर्‍याएर मालिकको अगाडि उभियो ।

गरिबको निम्ति जे भने पनि एउटा मृत्यु छ । कतैबाट पनि सहारा पाइएन भने मृत्यु त उसको कतै नजा ! जीवन जसको निम्ति सुहाउने कुरो होइन । जीवन त ती ठूलाठूला सेता घरमा बस्ने मालिकहरुको निम्ति पो ! उसलाई कहाँ कहाँको एउटा कुरा याद भयो । सामीबाद (रुसमा) मा सबै मानिस बराबर छन् रे ! धनी गरिब भन्ने त्यहाँ हुँदै हुन्नन् रे ! त्यहाँ सबैले खान लाउन पाउँछन् रे ! अँ.. त्यहाँ सबै केटाकेटीलाई सरकारले पाल्छ रे ! यो कुरा रामेले एक बाजी मालिकको घरमा छोराबाजेलाई तमाखू भनेर लाँदा, कोठामा उनका साथीहरुले गरेको सुन्याथ्यो । आहा ! कस्तो ठाउँ होला त्यो ! रामेले माथि आकाशमा हेरेर भन्यो, ‘हे ईश्वर, किन मलाई त्यो ठाउँमा जन्माइदिइनस् ?’

रामे आफ्नो धूनमा बाटो लागिरहेको थियो । अचानक एउटा साइकिलको पाङ्ग्राले उसको घुँडामा ठक्कर लाग्यो । ‘अय्या भनेर रामे थचक्कै बस्यो । साइकिलमा चढ्ने भले आदमीले उसलाई दुई चार थप्पड लगाएर भने, ‘उल्लु कहीँको, आँखा छैन तेरो ? रामेको करुण आँखाले भले आदमीको क्रूर दृष्टि हेर्‍यो । यत्तिकैमा मानिसहरु वरिपरि जम्मा भए । नजिकै पुलिसको सेन्टर भएकाले पुलिस पनि भिड देखेर त्यतैतिर आइपुग्यो । भले आदमीलाई देख्नासाथ पुलिसले सलाम गर्‍यो । भले आदमी पुलिसका क्याप्टेन रहेछन् । शानसित छडीले सलाम फर्काएर हुकुम दिए, ‘लैजा यस पाजीलाई थानामा ।’ रामेले हात जोडेर प्रार्थतनना गर्‍यो । हजूर दुई चार थप्पड अरु बक्स्योस्, थानामा त…,’ रामे रुन थाल्यो ।

सान्दर्भिक पोस्ट

‘लः भैगो, एक बाजीलाई छोड्दे,’ क्याप्टेन साहेबले ठूलो मेहरबानी देखाएर भने, ‘एकबाजीलाई छोड्दे । फेरि यस्तै गरी हिँडिस् भने…।’ त्यसपछि साइकल कुदाएर कतै गइहाले । रामे विचरो घुँडा सुम्सुम्याउँदै उठ्यो । अनि खोच्याउँदै लड्खडाउँदै अघि स¥यो ।

०००
‘हजूर काम पाइन्छ कि ?’

०००
‘हजूर….’

‘के, के… ?’ भन्दै होटलको मोटो भुँडीवाल साहु रामेतिर फर्क्यो ।

‘काम पाउँँछु कि हजूर ।’

‘के काम गर्छस् ?’

‘ऊ… तिनीहरुले गर्‍याजस्तो,’ भनेर होटलका ब्वाईहरुलाई औँल्याएर भन्यो ।

साहुलाई यस्तै केटाहरुको सख्त जरुरत थियो । किनकि यस्ता ठिटाहरुबाट काम काफी लिन पाइन्थ्यो तर ज्याला चाहिँ थोर दिए पुग्थ्यो । एक आफ्नो पार्टनरसँग कानाफुसी गरेर होटलको मालिकले जवाफ दियो, ‘हुन त हेर, यहाँ काम गर्ने मानिसको कुनै कमी छैन तर तेरो हालतलाई हेरेर हामीले तँलाई ठुकर्‍याउन सकेनौँ । ल, भैगो बस् तर याद राखेस्, यहाँका गिलास रिकापी आदि अरु सामान हराए वा फुटेमा तेरो कलिलो करङ भाँचिनेछ ।’

रामे झस्क्यो– ओह ! कलिलो करङ भाँच्चिनेछ । उफ, के ज्यूनु यस्तो दुुनियाँमा जहाँ ज्यूने ठाँवै छैन । हजार आफत यौटे दिलले मोल्नु कुनै मामुली कुरा त हैन नि ! तर के गर्नु ? मुख सुक्छ, जिब्रो लटपटाउन थाल्छ, पेटमा जठराग्नि दन्किन्छ । अनि… अनि के उपाय छ ? रामेले मजबूर भएर क्षीण आवाजमा भन्यो, ‘हस्, हजूर ।’

दिन बित्यो । महिना बित्यो । तर कसरी बित्यो ? कसलाई सुनाउने ? को छ सुन्ने ? त्यसैले यो कुरालाई पन्छ्याऔँ । पूरा एक वर्ष पनि बित्न पाएको थिएन । एक दिन रामेको तकदीरमा तीर चल्यो । ऊ लडखडायो । हातबाट काँचको गिलास खस्यो । रामेको बचेखुचेको आशा अभिलाषा सब चकनाचुर भयो । अब उसको निम्ति दुनियाँमा कुनै ठाउँ छैन । त्यही दिन उसले होटेल छोड्नु पर्‍यो । निन्याउरो मुख लिएर रामे चौबाटोमा आइपुग्यो । फेरि उही कहाँ जाने ? के गर्ने भन्ने समस्याले घेर्दै ल्यायो । आकाशमा बादल टम्म थियो । कतै पनि नीलो रङको थोप्ला पर्यन्त देखिएन ।

०००

तिजारत अड्डा अगाडिका विशाल देवालयहरु नेपाली सभ्यताको एक ऐतिहासिक गौरव चिह्न हो । जो कोही विदेशी पनि यो देखेर नेपाल सभ्य मुलुक रहेछ भन्नमा हिच्किचाउँदैनन् । तर अफसोच, तिनै देवालयका डिलमा पछारिएका नेपालका भावि कर्णधारहरुको दिनचर्या पनि तिनीहरुले देखेको भए… ।

रामे भौँतारिँदै त्यतैतिर पुग्यो । त्यहाँ उसले देख्यो– आफू सरहका ठिटाहरु कोई उत्तानो परेर लडिरहेका, कोही पुर्पुरोमा हात राखेर पूर्वजन्मको पाप खोजिरहेका, कोही आफू आफूमै भोकको भोकमा लुछाचुँडी गरिरहेका… इत्यादि, इत्यादि । रामे पनि त्यो दिनदेखि त्यहीँको एउटा सदस्य बन्यो । दिनभरि भीख माग्नु, मौका परे कसैको जेब काट्नु र अक्सर औँसीको रातमा चाल मार्नु, बस्, यही हुन गो रामेको दिनचर्या ! यसैमा ऊ जवान भो ।जवानीका जोशमा उसले आफ्नो आदतको औकातलाई अढाउने मौका पायो ।

यसैको फलस्वरुप एक दिन गोरखापत्रमा ठूलो ठूलो अक्षरले लेखेको देखियो, ‘मशहूर चोर रामे गिरफ्तार, १० हजारको जवाहिरात चोरी ।’ रामेको पहिलो मालिकले यो पढेर झसङ्ग भए । मनमनै सोचे, ‘ओह ! क्या खतरनाक जीव रहेछ । बेसै भो, जो पहिले नै निकालिदिएँ ।’

०००

कठोर कारागारमा रामेलाई १२ वर्षको सजाय मिल्यो । हातखुट्टा मा हतकडी नेल लाग्यो । आखिर उसले कहाँ जाने, के गर्ने भन्ने समस्यालाई सुल्झाई छाड्यो । उसलाई थाहा छ, चोरेर मैले पाप गरेँ । तर उसलाई अझसम्म थाहा छैन, मैले किन चोरेँ ? चोर्नु पाप हो, सबै भन्छन् । चोर्न सिकाउनु के हो, कोही भन्न सक्छ ?

 

(परोपकार पत्रिकामा वि.सं. २०१० सालमा प्रकाशित यो कथा उहाँकी सुपुत्री रञ्जु पाण्डेले उपलब्ध गराउनु भएको हो ।)

प्रतिक्रिया
Loading...