नेपाली साहित्यको सम्पूर्ण पत्रिका

रचनात्मक कसरी रहने?

रचनात्मक अथवा सृजनशील व्यक्तिहरु जीवन र कार्यक्षेत्रमा सफल हुन्छन्। उनीहरुका लागि अवसरको ढोकाहरू सधैँ खुला रहन्छन्। उनीहरुसँग हरकोही सहकार्य गर्न चाहन्छन्। भनाइको तात्पर्य, उनीहरुलाई कहिल्यै बेरोजगार बस्नुपर्ने अवस्था आइपर्दैन।

अधिकांश हामी रचनात्मक रहन चाहन्छौँ। जीवन र कार्यक्षेत्रमा सफलता हासिल गर्न चाहन्छौँ। तर परिणाम हाम्रो सोच अनुकूल आउँदैन। केही कारणहरु छन्। हामी एउटै कार्यमा संलग्न हुन्छौँ। एउटै तरिकामा कार्य गर्छौँ। नवीनता ल्याउन सक्दैनौँ। त्यसैगरी हामी तनावग्रस्त हुन्छौँ। प्रेम, पैसा, काम, समय आदिको बारेमा अनावश्यक तनाव लिन्छौँ।

तनावले रचनात्मकतामा नकारात्मक प्रभाव पार्छ। यिनै कारणहरूले गर्दा हामी रचनात्मक हुन सक्दैनौँ। जीवन र कार्यक्षेत्रमा सफलताको झण्डा गाड्न असक्षम हुन पुग्छौँ। यस्तो अवस्थामा कसरी रचनात्मक रहने? सिर्जनाका मुहान कसरी फुटाउने?

जीवन र कार्यक्षेत्रमा रचनात्मक रहनका लागि नेतृत्व एवं रचनात्मकता विज्ञहरुद्वारा सिफारिस निम्न विधि अवलम्बन गर्न सकिन्छ।

नकारात्मक भावनाको सदुपयोग

नकारात्मक भावनाले नयाँ विचार जन्माउन सक्छ। परिवर्तनको जग खडा गर्न सक्छ। निराशा र रिस जस्ता नकारात्मक भावनाले केही समस्या छ भन्ने कुराको संकेत गर्छ। यही नकारात्मक भावनाले सर्जकलाई समस्या समाधानको लागि केही

रचनात्मक कार्य गर्न प्रेरित गर्छ। केही उदाहरणहरू बारेमा छोटो चर्चा गरौँ। जोसेफिन कोचरिन घरको कामदारबाट निराश थिइन्। कामदारले भाँडा माझ्ने क्रममा बहुमूल्य कप र प्लेट फुट्ने गर्थ्यो। यसबाट उनी आजित थिइन्। त्यसैले उनले भाँडा माझ्ने मेसिन आविष्कार गरिन्। त्यसैगरी अपूर्व मेहतालाई किराना किनमेल अनुभव मन परेको थिएन। त्यसैले उनले ग्रोसरी डेलिभरी एप ‘इन्स्टाकार्ट’ विकास गरे। उनीहरुले आफ्नो नकारात्मक भावनालाई सदुपयोग गर्न सकेकै कारण सर्जक, आविष्कारक एवं उद्यमी बन्न पुगेका हुन्। त्यसैले कुनै पनि क्षण नकारात्मक भावना उत्पन्न हुँदा अनावश्यक रुपमा अत्तालिने नगर्नोस्। यसको ठीक विपरीत शान्त रहेर नयाँ समाधानको बाटो खोजी गर्नोस्। नकारात्मक भावना सदुपयोग गर्ने कोसिस गर्नोस्। यसो गर्नाले तपाईंको रचनात्मकता वृद्धि हुन्छ।

नयाँ परिस्थितिको सामना गर्ने

नयाँ परिस्थितिको सामना गर्दा रचनात्मकता बढेर जान्छ। भर्चुअल रियालिटी प्रयोग गरिएको एउटा परीक्षण बारेमा संक्षिप्त वर्णन गरौँ। परीक्षणमा सहभागी व्यक्तिहरुलाई तीन समूहमा विभाजन गरियो।

पहिलो समूहका सहभागीहरुलाई यस्तो कोठमा प्रवेश गराइयो जहाँ भौतिक वस्तुहरूले भौतिक शास्त्रका नियम पालना गरेका थिएनन्। वस्तुहरू जमिनमा झर्न भन्दा पनि हावामा माथि उड्दै थिए। सहभागीहरुले वस्तुको नजिक जाँदा वस्तु झनै सानो भएको पाए।

दोस्रो समूहका सहभागीहरुलाई यस्तो कोठमा प्रवेश गराइयो जहाँ भौतिक वस्तुहरूले भौतिक शास्त्रका नियम पालना गरेका थिए।

तेस्रो समूहका सहभागीहरुलाई भने पहिलो समूहका सहभागीहरुले सामना गर्नु परेको परिस्थितिको भिडियो क्लिप देखाइयो। परीक्षणपछि पहिलो समूहका सहभागीहरुमा संज्ञानात्मक लचकता बढेको पाइयो। संज्ञानात्मक लचकताले रचनात्मकता वृद्धिमा ठूलो भूमिका खेल्छ। यो परीक्षणबाट नयाँ परिस्थितिको सामना गर्नाले रचनात्मकता बढ्ने पुष्टि हुन्छ।

त्यसैले रचनात्मक रहन नयाँ परिस्थितिको सामना गर्नोस्। नयाँ परिस्थितिको सामना गर्दा नयाँ अनुभव लिने अवसरहरू पनि प्राप्त हुन्छन्।

जसको परिणाम हुन्छ रचनात्मकता वृद्धि। नयाँ परिस्थिति वा नयाँ अनुभव लिन आफूले कहिल्यै नगरेको कार्य वा कलात्मक कार्यमा सक्रिय हुन सकिन्छ। जस्तैः अभिनय कक्षामा सहभागी हुने, नाच सिक्ने, संगीत सिक्ने आदि।

प्रवाह अवस्थामा रहने

फ्लो अर्थात् प्रवाह अवस्थामा रहँदा कार्यमा यति धेरै मस्त भइन्छ कि समय बितेको पत्तै हुँदैन। हार्वर्ड विश्वविद्यालयका प्राध्यापक टेरेशा एमाबाइलको अनुसन्धानले प्रवाह अवस्थामा रहने व्यक्तिको रचनात्मकता, उत्पादकता र खुसीको स्तर उच्च रहने देखाएको छ। सोही अध्ययनले प्रवाह अवस्थामा रहने व्यक्ति केही क्षणका लागि मात्र नभएर केही दिनसम्म रचनात्मक हुने पनि स्पष्ट रुपमा देखाएको छ। यसको अर्थ हो, प्रवाह अवस्थाबाट प्राप्त हुने रचनात्मकता क्षणिक होइन लामो समयसम्म कायम रहन्छ। अर्को शब्दमा भन्नुपर्दा, प्रवाह अवस्थामा रहँदा बढी रचनात्मक हुन सकिन्छ। त्यसैले रचनात्मक रहन प्रवाह अवस्थामा पुग्ने कोसिस गर्नोस्। यसको लागि केही कार्य गर्न सकिन्छ।

पहिलो, बाहिरी विकर्षण हटाउने। विभिन्न सोध अनुसन्धानअनुसार कुनै पनि कार्य गर्दा ध्यान भङ्ग हुन गयो भने पुनः पहिलेकै अवस्थामा फर्कन औसत रुपमा २५ मिनेट लाग्छ। त्यसैगरी अध्ययनअनुसार कुनै पनि कार्य गर्दा प्रवाह अवस्थामा पुग्न १० देखि १५ मिनेट ध्यान केन्द्रित गर्न सक्नुपर्छ। यद्यपि हाम्रो ध्यान भङ्ग गर्ने अनगिन्ती विकर्षण वस्तुहरू छन्। जसकारण हामी ध्यान केन्द्रित गर्न सक्दैनौँ।

अनि प्रवाह अवस्थामा पनि पुग्न सक्दैनौं। यसर्थ प्रवाह अवस्थामा पुग्न बाहिरी विकर्षण हटाउनु जरुरी छ। यसको लागि फोन र इन्टरनेट कम चलाउने, सामाजिक सञ्जालका नोटिफिकेसन अफ गर्ने, अनावश्यक फाइल र वस्तुहरू हटाउने, शान्त वातावरण सिर्जना गर्ने जस्ता कार्य गर्न सकिन्छ।

दोस्रो, जैविक शिखर समयमा कार्य गर्ने। यो भनेको सबैभन्दा बढी ध्यान केन्द्रित गर्न सक्ने समय, अत्याधिक इच्छाशक्ति रहने समयमा कार्य गर्नु हो। जसकारण सजिलै प्रवाह अवस्थामा प्रवेश गर्न सकिन्छ। यदि तपाईंको जैविक शिखर समय विहान हो भने विहान महत्वपूर्ण कार्य गर्नोस्। यदि तपाईं जैविक शिखर समय बेलुकी हो भने बेलुकी महत्त्वपूर्ण कार्य गर्नोस्। यसो गर्नाले तपाईं सजिलै प्रवाह अवस्थामा पुग्नका साथै रचनात्मक पनि रहन सक्नुहुन्छ।

सञ्जाल बृहत् बनाउने

विभिन्न सोध अनुसन्धानले विविध नेटवर्क अथवा सञ्जाल कारण रचनात्मकता वृद्धि हुने देखाएको छ। यति मात्र होइन, ज्ञान विविधता र व्यक्तिको रचनात्मकताबीच सकारात्मक कोरिलेसन (सह-सम्बन्ध) हुने पनि देखाएको छ। सन् १९७० र सन् १९८० को दशकमा ज्ञान सिर्जना भन्नाले आधार- सामग्री, तथ्य, सूचना आदिलाई दक्षताका साथ व्यवस्थित गर्ने गतिविधि बुझिन्थ्यो। यद्यपि अहिलेको वैज्ञानिक युगमा ज्ञान सिर्जना भन्नाले विभिन्न पृष्ठभूमि, विचारधारा र विश्वास प्रणालीका मानिससँगको अन्तरक्रियाले वर्धित सामाजिक प्रक्रिया बुझिन्छ। त्यसैले रचनात्मक रहन सीमित घेराभित्र अल्मलिने नगर्नोस्। आफ्नो सञ्जाल फराकिलो र बृहत् बनाउने कोसिस गर्नोस्। हरेक दिन नयाँ ठाउँ जाने, नयाँ व्यक्तिलाई भेट्ने र हार्दिकता बढाउने गर्नोस्। एकअर्काबीच विचार तथा ज्ञान आदनप्रदान गर्नोस्। अहिले महामारीको अवस्थामा नयाँ ठाउँ जाने र नयाँ व्यक्तिसँग अन्तरक्रिया गर्न सहज वातावरण उपलब्ध छैन। यस्तो अवस्थामा सामाजिक सञ्जाल मार्फत अन्तरक्रियालाई निरन्तरता दिन सकिन्छ। त्यसैगरी सामूहिक अन्तरक्रियाको लागि विशेषतः जुम एप प्रयोग गर्न सकिन्छ। सामूहिक अन्तरक्रियाबाट विविध ज्ञान र विचार प्राप्त गर्न सकिन्छ। जसकारण रचनात्मकता बढ्ने सम्भावना उच्च रहन्छ।

प्रकृतिमा समय बिताउने

सन् २०१२ मा प्रकृतिले व्यक्तिको रचनात्मकतामा कस्तो प्रभाव पार्छ भन्ने विषयमाथि एउटा मनोवैज्ञानिक अध्ययन गरिएको थियो। सो अध्ययनमा ५६ जना व्यक्तिहरु सहभागी थिए। ती सहभागीहरुमध्ये २४ जनाको पैदल यात्रामा जानुभन्दा अगाडि रचनात्मकता परीक्षण गरियो। र, बाँकी ३२ जनाको भने पैदल यात्राको चौथो दिनमा रचनात्मकता परीक्षण गरियो। यस परीक्षणमा ३२ जना व्यक्तिहरुले २४ जना व्यक्तिहरुको तुलनामा निकै उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए। अन्ततः अनुसन्धानकर्ताहरुले प्रकृतिमा समय बिताउँदा व्यक्तिको रचनात्मकता परीक्षण स्कोर ५० प्रतिशतले बढ्ने निश्कर्ष निकाले। त्यसैले रचनात्मक रहन धेरैभन्दा धेरै प्रकृतिमा समय बिताउने गर्नोस्। यसको लागि पैदल यात्रा, जंगल सफारी, राष्ट्रिय निकुञ्ज भ्रमण, बनभोज, घर बाहिर व्यायाम आदि जस्ता गतिविधिमा संलग्न हुन सकिन्छ।

प्रतिक्रिया
Loading...