नेपाली साहित्यको सम्पूर्ण पत्रिका

दलितभित्रको बाहुनवाद

नेपाल, एक्काइसौं शताब्दीमा आइपुग्दा समेत विकासको तल्लो खुट्किलोमा बामे सरिरहेको छ । कुनै पनि देश विकसित नहुनु भनेको कर्मशील नागरिकको अभाव हुनु हो । या त कर्ममा भन्दा भाग्यमा बढी विश्वास गर्ने मानिसहरुको संख्या नघट्नु हो । भाग्यवादलाई काखी च्यापिएको हाम्रो देशमा हिन्दु वर्णाश्रम व्यवस्थाले हैकम जमाएर बसेको छ । अझ भनौं वर्णाश्रम व्यवस्था जात व्यवस्थामा परिणत भएर मानिसहरुको चेतना भ्रष्ट गराइरहेको छ । मानिस-मानिसबीच उँचनीचको खाडल बनाएर जातीय नश्लवाद हुर्काइरहेको छ।

वर्णाश्रम व्यवस्थाले श्रमको आधारमा मानिसहरुको वर्गीकरण गर्दछ । मानिसहरु कस्तो किसिमको काम गर्दछ्न्, त्यसैको आधारमा उनीहरु कुन स्थानमा रहने निर्धारण हुन्छ भनी वर्णाश्रम व्यवस्थाले वकालत गरेको छ । जसअन्तर्गत बुद्धिजीवी वर्गलाई ब्राह्मण, रक्षक वर्गलाई क्षेत्री, व्यापारी वर्गलाई वैश्य र श्रमिक वर्गलाई शुद्र भनिएको छ । संसारकै प्राचीन ग्रन्थ मानिएको ऋग्वेदमा मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्रीय, पेटबाट वैश्य र पाइतालाबाट शूद्रको उत्पत्ति भएको उल्लेख छ। जुन घोर आपत्तिजनक, असम्भव र कपोलकल्पित मान्यता हो। पछि जन्म ई.पू. २०० मानिएका प्रथम ब्राह्मण राजा मनुले मनुस्मृति रचना गरी वर्णाश्रम व्यवस्थालाई अझ कठोरतापूर्वक लागू गरे। हिन्दूको पवित्र ग्रन्थ मानिने भागवत् गीतामा समेत चार वर्णको व्याख्या र सार विस्तृत रूपमा उल्लेख गरेको पाइन्छ। हालको जातव्यवस्थाको मूल स्रोत वर्णाश्रम व्यवस्था नै हो। “तपसे शुद्रम्” (यजुर्वेद ३०/५) अर्थात् तप (कठोर कर्म) गर्न सक्ने मान्छे मात्र शुद्र बन्न योग्य हुन्छ । यद्यपि शुद्र वर्णलाई वर्णाश्रम व्यवस्थाको तल्लो तहमा राखिएको छ । उसो त विकास र श्रम पर्याय हुन्। यसर्थ, कठोर परिश्रम गर्ने मानिसहरूलाई महत्त्वमा नराखे पछि विकासले साथ दिने त कुरै भएन।

हिन्दु वर्णाश्रम व्यवस्थाले कर्मको आधार देखाएर मानिस-मानिसबीच उँचनीचको अवधारणा स्थापना गर्यो। माथिल्लो स्थानमा राखिएका ब्राह्मण वर्ग पठ्नलेखनमा अघि भएका कारण चतुर पनि हुने नै भए । धर्मशास्त्रमा कर्ममा आधारित वर्ण व्यवस्थाको चर्चा भए पनि पढेलेखेका केही ध्रुत ब्राह्मणहरुले कर्ममा आधारित वर्णागत् तहलाई जन्ममा आधारित जातीय तहमा रुपान्तरण गरिदिए। ताकि आफ्ना छोरानाति तल्लो वर्गको नकहलियोस् । र, जन्मकै आधारमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुने नियम बनाए । यसरी वर्ण नै जातमा परिवर्तन भयो। त्यसपछि, ब्राह्मणले आफू तलका सबैलाई विभेद गर्न थाले । तिनीहरुको सिको गर्दै क्षेत्रीले वैश्य र शुद्रलाई अनि वैश्यले शुद्रलाई विभेद गर्न लाग्यो । यसरी पिंधमा रहेको शुद्र सबैको थिचोमिचोमा पर्यो र दलित बन्यो । होइन भने, जसले कठोर परिश्रम गर्छ, उसको सम्मान गर्नुपर्नेमा उसैलाई तल्लो जातको किन मानियो ?

नेपाली बृहत् शब्दकोषका अनुसार ‘दलित’ शब्दको शाब्दिक अर्थ, फुटाइएको, दबिएको, दमन गरिएको, थिचिएको, कुल्चिएको हो । दलित समुदाय भन्नाले देशको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक र प्रशासनिक सबै क्षेत्रमा पछाडि पारिएका जातिहरुको समूह हो । जातव्यवस्था अनुरुपको छुवाछुत प्रथाबाट प्रत्यक्ष रुपमा जातीय विभेदमा दलित समुदाय परेका छन् । नेपालमा पहाडमा पाँच समूहका र तराईमा दश समूहका दलितहरु छन्। दलित समुदायमा पर्ने जातको नाम पनि श्रम वा स्थान विशेषसँग जोडेर बनाइएको थियो। अहिले पनि प्रचलित जातको नामको चरित्र त्यस्तै नै कायम छ। जस्तै, कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई, जुम्लाको सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने र रखवारी गर्ने द्यला अनि चर्म अर्थात् छालाको काम गर्ने चमार इत्यादि। नेपालमा मुलुकी ऐन वि.स.१९१० लागू हुनु भन्दाअघि पनि छुवाछूत प्रथा कायम थियो । उक्त मुलुकी ऐनले छुवाछूत प्रथालाई कानुनी मान्यता दियो । जसको असर आजको नेपाली समाजमा पनि कायम छ । र, यसबाट सबैभन्दा पीडित दलित समुदाय बनेको छ ।

विभेदको सुरुवात ब्राह्मण वर्गबाट भएको हुनाले हेपाई र दलनको अर्को नाम ब्राह्मणवाद बन्न पुग्यो । आफ्नो जाति, भाषा, धर्म, संस्कृति र जीवनशैली महान् र सर्वश्रेष्ठ, अरु सबै नीच भन्ने सोचाई ब्राह्मणवाद या बाहुनवाद हो । बाहुनवाद र बाहुन अलग हुन् तर बाहुनवाद भन्नासाथ बाहुनजातिहरु बाहुनलाई नै गाली गर्यो भन्ने सम्झन्छ्न्, जुन गलत हो । उच्च जातीय अहंकार पालेको र जातीय छुवाछूत गर्ने मानिस बाहुनवादी हुन्छ । नेपालका सबै जातका मानिसहरुमा बाहुनवादी प्रवृत्ति हावी छ। बाहुनवादको अत्यधिक मारमा परेको दलित समुदाय भित्रका कामी जातिले दलितभित्र पनि बाहुनवादको विकास गरे । जसका कारण आजको दिनसम्म दलित समुदायभित्र पनि बाहुनवादको रुप लिएर कामीवाद फस्टाएको छ।

हिन्दु धर्मका काल्पनिक भगवान् विश्वकर्माका सन्तान सम्झने कामी जातिले आफूलाई दलितको ब्राह्मण ठान्छ। र, दलितका अन्य जातलाई विभेद गर्दछ । केही इतिहासविदहरुका अनुसार बाग्लुङका सर्वजीत कामीले २००६ सालमा राणा प्रधानमन्त्री मोहनशमशेर समक्ष खड्काथोकी थर भएका कामी जातिले खड्का थर लेख्न र जनै लगाउन पाउनुपर्ने माग राखेर बिन्तीपत्र चढाए। प्रधानमन्त्री मोहनशमशेरले सर्वजीतको माग सदर गरिदिए। तर स्थानीय प्रशासन, कर्मचारी र अन्य तल्ला निकायले त्यो निर्णय रुचाएनन् र कार्यान्वयन हुन दिएनन्। त्यति मात्रै होइन, लगत्तै ००७ सालको क्रान्ति सफल भई राणा शासनको अन्त्य भएका कारण जनै भिर्ने र खड्का थर लेख्ने सर्वजीतको सपना तुहियो। तत्पश्चात्, नेपालका ब्राह्मणहरूको सुझावबमोजिम उनी भौतारिँदै भारतको काँशी पुगे। काँशीका पण्डितले सर्वजीतलाई जनै धारण गर्ने अधिकार त दिएनन्, तापनि कामी जातिको पेसा, कर्मका आधारमा विश्वकर्मा थर लेख्न सल्लाह दिएर फर्काए। हिन्दू धर्मशास्त्रका अनुसार हातहतियार, धातुका उपकरण, सामान, भाँडाकुँडा, औजारका निर्माता विश्वकर्मा थिए। ‘तिमीहरू विश्वकर्माका सन्तान हौँ, अबदेखि विश्वकर्मा थर लेख्नू’ भन्ने भारतीय पण्डितहरूको सन्देश बोकेर सर्वजीत नेपाल फर्किएपछि कामी जातिले विश्वकर्मा थर लेख्न थाले। कामी जातिले आफ्नो नामको पछाडि विश्वकर्मा लेख्न थालेको करिब सात दशक भयो।

मनुस्मृतिलगायत धार्मिक ग्रन्थमा ‘शिल्प गर्ने विश्वकर्मा’ भन्ने उल्लेख गरिएको भए तापनि शास्त्रका ‘विश्वकर्मा’ एक मिथक मात्रै रहेको स्पष्ट छ। यदि विश्वकर्मा हातहतियार, औजार, निर्माण सामग्री आदिका आविष्कारक भएका भए, उनले आविष्कार गरेका सामग्री, औजार आदि के–के हुन् ? पश्चिमा वैज्ञानिकहरूद्वारा निर्मित मेसिन, गाडी, औजार, हतियार आदिलाई पनि विश्वकर्माकै नाममा पूजा गरिनुको तात्पर्य र औचित्य के हो ? शास्त्रमा वर्णित कथित बाबा विश्वकर्मा नै मिथक पात्रका रूपमा रहेको अवस्थामा कामी जातिले त्यसैलाई जात वा थरको रुपमा स्वीकार गर्नु कीमार्थ उचित छैन । अर्कोतर्फ, विश्वकर्मालाई सत्य मान्ने हो भने मनुलाई विश्वको प्रथम मान्छे अर्थात् महिला र पुरुषको संयोजन मान्न करै लाग्छ। मनु र मनुले रचना गरेका तत्कालीन धार्मिक कानुन मनुस्मृतिलाई आजको युगमा पनि सत्य, यथार्थ र वैज्ञानिक मानी लागू गर्ने हो भने हामी फेरि कुन युगमा फर्कन्छौँ होला ? मनुस्मृतिले ब्राह्मणवाद सिर्जना गरेर जातीय विभेद गर्यो भन्दै गर्दा कामी जातिले सोही ग्रन्थमा आधारित विश्वकर्मा शब्दलाई थरका रुपमा गर्वका साथ ग्रहण गर्नु भनेको “ताक परे तिवारी नत्र गोतामे” भनेजस्तै हो।

पहाडिया दलित समुदायभित्र अझै पनि तहगत जातीय विभेद कायम छ। कामीले सार्की र दमाईलाई अनि सार्कीले दमाईलाई आफूभन्दा तल्लो सम्झन्छन् । त्यसैगरी मधेसी दलितभित्र पनि तहगत जातीय विभेद देखिन्छ। दलितमाथि गैरदलितको ब्राह्मणवाद हावी भएजस्तै दलितभित्रै कामीवाद हावी भएको देखिन्छ । कामी जातिले आफूलाई दलितहरुको सर्वश्रेष्ठ र सम्भ्रान्त वर्ग ठान्दछ । केही साताअघि मोरङको उर्लाबारीमा कामी जातको एक शिक्षित परिवारले दमाई जातकी आफ्नै बुहारीलाई जातीय विभेद गर्दै ससुराको काजकिरियामा सामेल हुन रोक लगाएको समाचार बाहिरियो । पीडक पक्ष र पीडित दुवै राजनैतिक पार्टीका सदस्य रहेको तथ्य खुल्न आएको छ । दलित समुदायलाई कुन किसिमको जातीय विभेदले कुल्चिएको छ र सो विभेदको जग कहाँ छ भन्ने इतिहास पढेका र बुझेका शिक्षित र सम्पन्न दलितले समेत आफूजस्तै अर्को दलितलाई विभेद गर्दछ भने गैरदलितले दलितलाई विभेद गर्यो भन्दै उफ्रिनुको तुक छैन । शहरका पढेलेखेका दलितहरु नै आपसमा विभेद गरी बस्छन् भने दुर्गमका दलितको चेतनास्तर कुन तहको छ भनी सहजै अनुमान लगाउन सकिन्छ ।

सर्वप्रथम जातीय विभेद विरुद्धको लडाईं आफ्नासँगै लड्नुपर्ने देखिन्छ। केही दशक अघिबाट नै दलितको हकहित र उत्थानको निमित्त भनी थुप्रै एनजिओ र आइएनजिओ लगायत सरकारी संघसंस्था खोलिएका छन्। तथापि, ती संघसंस्थाले दलितभित्रको आन्तरिक छुवाछुतबारे कुनै किसिमको जनचेतना फैलाउने या सो निराकरणका क्षेत्रमा कुनै काम गरेको भेटिंदैन। सामाजिक तथा राजनैतिक संघसंस्थामा आबद्ध दलितले आन्तरिक छुवाछुत निर्मूलीकरण गर्न भनी कुनै कदम नचाल्नु तर गैरदलित-दलित बीचको विभेदमा मात्र केन्द्रित हुनु पनि नेपालमा जातीय विभेद घट्न नसक्नुको एउटा कारण हो। कुनै पनि गन्तव्य तर्फको मार्ग तय गर्नु अघि आफ्नो आँगनको खाल्डो पुर्न जरुरी छैन र ? कहिलेसम्म आफ्नै आँगनको खाडलमा चिप्लिरहने ?

“भाइ फुटे गँवार लुटे” भनेजस्तै दलितभित्र कामीवाद कायम रहिरहे गैरदलितको बाहुनवादी सोचलाई मलजल मिल्दछ। जतिसक्दो चाँडो दलित-दलित बीचको विभेद हटाउन सकिएन भने सम्पूर्ण दलित समुदायकै लागि घातक हुनसक्छ । घरभित्र भएको असमानताको पर्खाल ढाल्न नसक्नु अनि बाहिरकाले समानता दिएन भन्नु अर्थहीन हुन्छ। तसर्थ परियार सेवा समाज, विश्वकर्मा समाज, वादी समूह, सार्की उत्थान समाज, चमार संघ इत्यादि आपसमा फुट प्रदर्शन गर्ने अनावश्यक संघसंस्था निर्माण गर्न बन्द गरेर सम्पूर्ण दलित एक ढिक्का बनी जातीय नश्लवाद विरुद्धको लडाईं लड्नु पर्दछ ।

दलितलाई दलित बनाउने बाहुनवादको जग जातव्यवस्थामाथि उभिएको छ । बाहुनवादको बुईं चडेर दलितभित्र कामीवाद हुर्किएको हो । दलितलाई जुनरुपमा बाहुनवादले दलन गरेको छ त्यति मात्रामा कामीवादले दलन गरेको भने छैन । दलित-दलित बीचको आन्तरिक छुवाछुत पानीको मात्र हो, ज्यानमारा होइन । अन्तरजातीय बिहे गरेकै निहुँमा कुनै कामीले कुनै दलितलाई मारेको रेकर्ड छैन। नेपालको सुगम /दुर्गम सबै क्षेत्रका कुनाकुनामा पुगेर व्यापक जनचेतना वृद्धि गर्न सकिएमा दलितभित्र थोरै मात्रामा निहीत आन्तरिक छुवाछुत पनि हटाउन बेर लाग्दैन ।

अत: दलितको मुख्य लडाईं गैरदलितले दलितमाथि गर्ने जातीय विभेदविरुद्ध नै हो । जसका लागि जातव्यवस्थाको अन्त्य अपरिहार्य छ । तसर्थ जातव्यवस्थालाई जरैबाट उखेली फ्याँक्न साठी लाख आवाज एक हुन अत्यावश्यक छ । “हामी सबै एकै हौँ, जात व्यवस्था मुर्दावाद।”

प्रतिक्रिया
Loading...