नेपाली साहित्यको सम्पूर्ण पत्रिका

छायाँमा परेका व्यक्तित्व: ब ल म क न द

नेपाली साहित्यमा साहित्यिक युग निर्माण गर्ने पछिल्लो साहित्यिक पत्रिका “रुपरेखा” नै थियो । त्यसपछि साहित्यिक युग निर्माण गर्ने साहित्यिक पत्रिका अरु भएनन्  रुपरेखाभन्दा लामो समयसम्म निरन्तर भए पनि र बढी अङ्क प्रकाशन गरे पनि ।

रुपरेखाको उत्कर्ष कालखण्डका सम्पादक थिए-उत्तम कुँवर र वालमुकुन्ददेव पाण्डे । तर रुपरेखा यी दुई सम्पादकले शुरु गरेका थिएनन् र रुपरेखाको प्रकाशन बन्द हुँदा पनि रुपरेखामा यी दुई सम्पादक थिएनन् । तर रुपरेखाको लामो कालखण्डमा यी दुई सम्पादकले साहित्यिक युगको निर्माण गरे । यसमा दुवैको अथक योगदान रह्यो । तर रङ्गमञ्चमा उत्तम कुँवर ज्यादा देखिए, वालमुकुन्द भने छायाँमै वसे । छायाँमै रहन रुचाए र उनको स्थान छायामै स्थायी रुपले रहन गयो ।

आज म तिनै छायाँमा परेका वालमुकुन्द देव पाण्डेको विषयमा लेख्दैछु ।

रुपरेखाको कार्यालय ढोकाटोलमा थियो । ढोका टोलको झण्डै अन्तिमनेरको देब्रेपट्टीको घरको छिंडी रुपरेखाको कार्यालय, रुपायन प्रकाशनको कार्यालय र रुपायन प्रेस सवै एकसाथ थियो । त्यहाँ सामान्यत २ जना भेट्थें म-वालमुकुन्ददेव पाण्डे र किशोर कुँवर । यो विसं २०३६ सालतिरको कुरा थियो ।

जतिपल्ट म त्यहाँ पुगें, वालमुकुन्द देव पाण्डेलाई घोप्टिएर प्रुफ पढिरहेको मात्र हेक्का छ । म किशोर

बादेपा

कुँवरलाई रचना दिएर फर्कन्थें । किशोर कुँवर कम बोल्थे । हाँस्थे पनि हल्का । तर वालमुकुन्द भने हमेसा घोप्टिरहेकै हुन्थे । यदाकदा मुण्टो उठाए पनि अनौठो दृष्टिले हेरेजस्तो लाग्थ्यो । मेरो उनीसँग वोलचाल नै भएन । भनौं चिनजान नै भएन ।

रुपरेखाको हरेकजसो अङ्कमा भने वालमुकुन्द देवलाई भेटिन्थ्यो अन्तिम पृष्ठमा चारैतिरबाट स्तम्भमा-ब ल म क न द नाममा । प्राय:जसो  मात्र एक पृष्ठको त्यो स्तम्भ मलाई रोचक लाग्थ्यो र म नियमित रुपले पढ्ने गर्थें ।

साहित्यिक युग निर्माण गर्ने रुपरेखाको उत्कर्ष २००औं पूर्णाङ्क थियो । यो बृहत् विशेषाङ्क थियो । यसमा राजा वीरेन्द्रको अन्तरवार्ता समेत थियो । त्यतिवेला राजासँग अन्तरवार्ता लिनु चानचुने काम थिएन । यो अन्तरवार्ता उत्तम कुँवरले लिएका थिए ।

खासमा रुपरेखाको वाहिरी काम, दौडधुपको काम, सम्पर्कको काम, श्रोत जुटाउनेदेखि विज्ञापन सहयोग जुटाउने, कवि लेखकसँग हिमचिम गर्ने काम उत्तम कुँवरले गर्ने गर्थे । तर प्रेसको काम, प्रुफको काम, सम्पादनको काम, स्थानिय प्रशासनबाट सेन्सर पास गर्ने काम, अञ्चलाधीस कार्यालय धाउने काम भने वालमुकुन्द देव पाण्डेले गर्थे । यही बाँडफाँडबाट रुपरेखा चलेको थियो ।

तर २००औं अङ्क विशेषाङ्कको रुपमा प्रकाशित भएपछि उत्तम कुँवर र वाल मुकुन्ददेव पाण्डे बीचको समझदारीमा धमिरा लाग्यो । विग्रह भयो र अन्तत: रुपरेखा उत्तम कुँवरले एकलौटी चलाउने भए । उत्तम कुँवर मात्र सम्पादक भएको रुपरेखा प्रकाशित हुन थाल्यो ।

साहित्यिक बृत्तमा वाल मुकुन्ददेव पाण्डे रुपरेखावाट अलग भएको विषयमा अनेक हल्लाहरु चले । हल्ला त हल्ला नै हो, कति सत्य हुन्छ र हल्लामा । तर यौटा हल्ला भने निकै ब्यापक भएको थियो-वालमुकुन्द देव पाण्डेले नयाँ रुपरेखा नामवाट रुपरेखाको टक्करमा अर्को मासिक साहित्यिक पत्रिका निकाल्दैछन् भन्ने ।

तर त्यो हल्ला पनि विस्तारै सेलायो । वाल मुकुन्दले कुनै नयाँ साहित्यिक पत्रिका प्रकाशन गरेनन् । बरु उनले प्रेस भने शुरु गरे, चारु प्रेस । उनलाई प्रेसको अनुभव भएकाले नै प्रेस शुरु गरे, तर रुपरेखाको प्रतिद्वन्दितामा अर्को साहित्यिक पत्रिका चाहीं शुरु गरेनन् ।

रुपरेखाबाट अलग भएको विषयमा वालमुकुन्दले मधुपर्कमा पछि यस्तो प्रतिकृया लेखेका थिए, वासुदेव लुईंटेको वारेमा लेख्ने क्रममा:

“”उत्तम कुँवर(उहाँले राख्नु भएको नाम “नाती जर्नेल”) र मेरो जोडी अथवा भनौं हामी बीच मेलमिलाप कायम गर्न माड्साप सधैं सकृय रहनु भो । जब हामी नछुट्टिई नहुने अवस्थामा पुग्यौं त्यसवेला माड्सापले भन्नु भएथ्यो-” भैगो बलम्, नाती जर्नेलले तिमी उपर अन्याय गर्यो, रुप-रेखा पनि डुवाउने भो, तिमी अलग होईदेउ ।” मैले उहाँको सल्लाहलाई शिरोपर गरें । यहाँ पनि माड्सापको भनाई सत्य ठहरियो । उत्तमले मउपर अन्याय गरे भन्न सक्तिन, तर मलाई हटाएर रुप रेखाको हित चाहीं गरेनन्, यो सबैलाई थाहा भएको विषय हो ।”

तर समयको खेल कस्तो हुन्छ भने आफू मुक्त भएको कतिपय कुराबाट मान्छे मुक्त हुनै सक्दैन । वालमुकुन्दलाई पनि त्यस्तै भयो । औपचारिक रुपमा रुपरेखाबाट अलग भए पनि पछि प्रकारान्तरले उनी रुपरेखासँग जोडिनै पर्यो ।

विसं २०३९ साल जेठमा अप्रत्यासित रुपमा उत्तम कुँवरको निधन भएपछि छोटो समय किशोर कुँवरको सहयोगमा  शान्ति कुँवरको सम्पादनमा रुपरेखा निरन्तर भयो । तर पछि किशोर कुँवर रुपरेखाबाट हटेपछि र रुपायन प्रेस अघि नबढाउने भएपछि शान्ति कुँवर मामा वालमुकुन्द देव पाण्डेकहाँ पुगिन् चारु प्रेस । अनि चारु प्रेसवाट रुपरेखा मुद्रण हुन थाल्यो मात्र होइन, नाम नराखिकन अघोषित रुपमा वालमुकुन्दले सम्पादनको काममा सघाए । यसको मूल काण वालमुकिन्द र शान्तिको मामा भान्जीको साईनो थियो । यसरी आफू अलग भएको रुपरेखाको सम्पादन कार्यभार उनले सम्हाल्नु पर्ने अवस्था आयो । यही समयमा म रुपरेखासँग नजिकिन पुगें । मैले आफ्नो रुचिको अन्तरवार्ता स्तम्भ चलाएँ । त्यसका लागि शान्ति कुँवर र वालमुकुन्ददेव पाण्डेसँग मेरो छलफल भएको थियो । म अन्तरवार्ता चारु प्रेसमा वालमुकुन्ददेवलाई दिन्थें र प्रकाशित हुन्थ्यो । त्यस समयमा डा.ध्रुवचन्द्र गौतम, मदनमणि दीक्षित, परशु प्रधान, ध्रुव सापकोटा, वासुशशी लगायत धेरै साहित्यकारहरुसँग मैले लिएको अन्तरवार्ता रुपरेखामा प्रकाशित भयो । त्यस सतम्भका लागि ब्लक बनाउन “अन्तर्वार्ता” को लिपि लेखेर ल्याउन वालमुकुन्दले नै मलाई भनेका थिए र मैले “अन्तर्वार्ता” मोटो साइन पेनले लेखेर लगेको थिएँ, तर उनले त्यो अशुध्द भयो “अन्तरवार्ता” हुनुपर्छ भने र मैले सोही अनुसार लेखेर लगें ।

जब मैले सच्याएको लिपि लिएर गएँ, उनले सोधे, ” यो तपाईंकै अक्षर हो ? ”

मैले “हो” भनेपछि उनले भनेका थिए, ” तपाईंको अक्षर त आर्टिस्टको कस्तै छ ।”

उनको कुरा सुनेपछि म प्रशन्न भएर मुस्काएको थिएँ । मैले रुपरेखामा अन्तरवार्ता स्तम्भ चलाउन्जेल त्यही मेरो हस्ताक्षरको ब्लक निरन्तर छापिएको थियो ।

यसैवीच रुपरेखाको ३००औं अङ्कलाई “फर्केर कथा विशेषाङ्क” को रुपमा निकाल्ने कुरा चलको रहेछ । यसका लागि सहयोग गर्न शान्ति र वालमुकुन्द दुवैले मलाई आग्रह गरेका थिए र मैले केही कथा चयनका लागि सहयोग गर्ने अवसर पाएको थिएँ । तर समग्र विशेषाङ्कका लागि वालमुकुन्दले नै उर्जा खर्च गरेका थिए । उनको सम्पादन अनुभवको उपयोग गरेका थिए ।

पछि वालमुकुन्ददेव पाण्डेले गोरखापत्रको प्रधान सम्पादकको नियुक्ति पाए । खासमा उनी विसं २०१८ सालमै पत्रकारितामा लागेका थिए । त्यतिखेर उनी “ साप्ताहिक समाचार” सम्पादन गर्थे । पछि रुपरेखाको सम्पादक भएपछि उनको पूरै व्यक्तित्व साहित्यिक पत्रकारको भएको थियो ।

गोरखापत्रको सम्पादनको कार्यभार सम्हालेपछि उनले गोरखापत्रमा समसामयिक विषयमा लेख्थे । मैले उनले त्यसरी लेखेका उनका सवै लेखहरु त पढिंन, कारण मलाई गैर साहित्यिक कुरा पढ्न त्यति रुचि हुँदैनथ्यो । तर संयोगवस उनले नयाँ वानेश्वरमा बन्ने भएको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको विषयमा लेखेको लेख भने पढेको थिएँ र त्यो लेख अविष्मरणीय भयो मेरा लागि ।

उनले वानेश्वर जस्तो शहरको वीचमा यस्तो सम्मेलन केन्द्र निर्माण गर्नु उचित हुँदैन, मुख्य शहरभन्दा वाहिर वनाउनु उचित हुने कुरा सुझाएका थिए । जतिवेला उनले यो सुझाव लेखे, त्यतिवेला गोरखापत्रको प्रधान सम्पादकले सरकारको निर्णयको एक प्रकारले विपक्षमा यस्तो लेख्ने कल्पना कमै गरिन्थ्यो । सरकारले जे गर्यो ठिक गर्यो भन्नु नै गोरखापत्रका सम्पादकको दायित्व हुन्थ्यो ।

वालमुकुन्दले आफ्नो सम्पादनको काम निष्ठा पूर्वक गरे तर स्वतन्त्र साहित्यिक लेखन भने खासै गरेनन् । आवश्यकता र अनुरोधमा थोरै लेखे र ती छरपष्टको छरपष्ट नै रहे । तर उनले लेखेका ती संस्मरणहरु भने संस्मरणहरु भने घतलाग्दा र अविष्मरणीय छन् ।

०००

२० नोभेम्वर २०२०, फल्स चर्च, भर्जिनिया, अमेरिका ।

प्रतिक्रिया
Loading...