नेपाली साहित्यको सम्पूर्ण पत्रिका

आऊ, सँगै रोऊँ !

हरेक हामीलाई लाग्छ- हामी मात्र रुन्छौं, अरु रूँदैनन । हामी मात्र दुःखी छौं, अरु खुसी छन । प्रायः मानिसको स्वभाव आँशु लुकाउने र हाँसो देखाउने खालको हुन्छ । धेरैलाई लाग्छ- रुनु भनेको कमजोर हुनु हो । अझ अरुको सामू रुनु भनेको त आफ्नो कमजोरी प्रदर्शन गर्नु हो । रुने मानिसलाई हेर्ने आम दृष्टिकोण पनि त्यस्तै छ, भनिदिन्छन- यो त दुखिया मानिस हो, त्यसैले रुन्छ ।

चलचित्र हेर्दा, पुस्तक पढ्दा वा गीत संगीत सुन्दा मर्मले छोयो भने मेरा आँशु रोकिन्नन । जिन्दगीका तमाम रोदनहरूको वर्णन त यो सानो आलेखमा के गराइ भो र ?!

ठट्टै ठट्टामा अँस्ती मैले फेसबुक स्टाटसमा ‘फिल्म हेरेर रूने म मात्र त होला नि’ लेखिदिएँ । लेख्दै गर्दा मलाई राम्रो संग थाहा थियो- म भन्दा अधिक रुने मानिसहरू पनि संसारमा छन । तर आफू रोएको कुरा उनीहरूले मरीगए बताउँदैनन । उही क्या त ‘कमजोर मानिस’ भइन्छ भन्ने डरले । तर उक्त स्टाटसमा जब कमेण्टहरू आए, म आफै अचम्ममा परें । धेरै मानिस म जस्तै रूँदा रहेछन, म भन्दा पनि बढी रूँदा रहेछन । लाग्यो- संसार अझै जीवित छ । स्टाटसको प्रसंग फिल्म हेर्ने बेला रुनुको भए पनि कमेण्टहरूले चाहिं समग्र जीवनकै रुवाईको प्रतिनिधित्व गरे झैं लाग्यो ।

सान्दर्भिक पोस्ट

सधै हँसिमजाक गर्न रुचाउने र प्रायः खुसी मुद्रामा देखिने अधिकांश पुरुष साथीहरूले आफू फिल्म हेर्दा रुने कुरा कमेण्टमा लेख्नुभयो । सामान्यतया हामीलाई लाग्छ, महिलाहरू बढी भावुक हुन्छन, त्यसैले उनीहरू नै बढी रुन्छन । तर फिल्म संग जोडेर गरिएको अनायोजित उक्त सर्वेक्षणले के देखायो भने पुरुषहरू, ती पनि समाजको कुनै न कुनै तप्कामा वा ओहदामा बसेकाहरू, चर्चित र प्रतिष्ठित व्यक्तिहरू पनि रूँदा रहेछन । दुःख परेर मात्र होला त ? होइन, दुःख देखेर पनि हुन सक्छ !

यसर्थ भन्न सकिन्छ रुनुको साइनो आफ्नो दुःख संग मात्र रहेनछ । यो त अरुको दुःख संग झन बढी जोडिएको हुँदो रहेछ । फिल्ममा मन परेका पात्रले दुःख पाउँदा वा दुःख पछि सुख पाउँदा हामी जसरी रोइन्छ, त्यसैगरी समाजमा पनि त्यस्ता पात्रहरू छन, हाम्रै वरिपरी छन, हामीले देखेका छैनौं वा देख्न चाहेका मात्र छैनौं । हामी हरेक भित्र एउटा कोमल संवेदनशील मन छ, जसलाई हामी विभिन्न कठोर आवरणहरूले लपेटेर राखेका छौं ताकि संसार नामको यो ‘रेस’ मा हामी आफूलाई बलियो देखाउन सकौं ।

कमेण्टकै क्रममा कतीपय साथीहरूले आवाज नै निकालेर रुँदा लाज भएको कुरा लेख्नुभो । कतीपय साथीले लाज लाग्ने भएकोले कुनामा गएर एक्लै रुने कुरा लेख्नुभो । कतीपयले त रोएको अरुले देख्ने भएर एक्लै फिल्म हेर्ने कुरा सम्म लेख्नुभो । जे होस, मैले अपेक्षा नै नगरेका धेरैले आफू रुने कुरा स्विकार्नुभो । जुन कुरा सायद उहाँहरूले कहिलै कसैलाई बताउनु हुँदैन्थ्यो, नसोधेको भए । मेरा उटपट्याङ स्टाटसले पनि कहिलेकाहिं त काम गरिदिन्छन ।

सामाजिक संजाल वा अन्य मीडियामा तस्वीरहरू पोस्ट गर्दा रोएका तस्वीर पोस्ट गर्दैनौं, किनकि हामीलाई लाग्छ- मानिसहरूले गिज्याउन सक्छन, लाज हुन सक्छ । हामीले हाँसेका तस्वीर मात्र देखाउछौं । तर यथार्थ के हो भने हाँसेका तस्वीरकै अनुपातमा रोएका तस्वीर पनि कैद गरेको छ जिन्दगी नामको क्यामेंराले, मात्र अभिव्यक्तिको लाइब्रेरीमा सेभ छैनन ती तस्वीर ।

रुनु के लाजको विषय हो ? कमजोरीको द्योतक हो ? एउटा अचम्मको प्रसंग सुनाउँछु । जापानमा म नयाँ नयाँ थिएँ । एउटा टेबलमा चार जना मध्ये एक जना रोइरहेको देखें । अरुले उसलाई ‘नरोऊ’ भने जस्तो पनि लागेन । किन यसरी सबको अगाडी ऊ रोइरहेछ ? अनि किन उसका अरु साथीहरूले उसलाई नरुन भनेका छैनन ? मनमा प्रश्न उठ्यो- यस्तो सम्पन्न मुलुकको नागरिकलाई के दुःख होला र रोयो होला ? फेरि अर्को मनलाई लाग्यो- जापानीहरू रुखो स्वभावका मानिस रहेछन, त्यसैले छेवैको मानिस रूँदा पनि नरोऊ नभनेका होलान । तत्काल त्यस्तो लागे पनि त्यस्ता धेरै दृश्यहरू पटक पटक देख्दै गए पछि लाग्यो- त्यसरी साथी वा प्रियजन भेट्दा र रक्सी पिउने टेबलमा गफ गर्दै जाँदा रुनु जापानी संस्कृतिको अंग नै बनिसकेको रहेछ । यिनीहरू अति व्यस्त छन, आफ्ना मनका कुरा सुनाउने/फुकाउने फुर्सद पनि छैन जापानीहरू संग । काम, काम र मात्र कामको बोझले जापानीहरूलाई यसरी थिचेको छ कि यिनीहरू आफ्ना भावनाहरूलाई दबाएर राख्न बाध्य छन । अनि जब भावना साट्ने भरपर्दो ठाउँ पाउँदा रहेछन, त्यसरी रुने रहेछन । अरुले नरोऊ नभन्दा रहेछन । रुन दिंदा रहेछन । सायद खुलेर रुन दिनुमा कुनै वैज्ञानिक कारण वा जापानी मान्यता हुन सक्छ ।

स्मरण रहोस्- जापान उच्च आत्महत्या दर भएको मुलुक मध्ये एक हो । म कहिलेकाहिं सोंच्छु- यहाँको जस्तो अति व्यस्त जीवनशैली हाम्रो हुन्थ्यो भने हामी आत्महत्या गर्ने मुलुकको अग्रणी स्थानमा हुन्थ्यौं होला । कम्तिमा हाम्रो सामाजिक परिवेश अझै सम्म पनि तुलनात्मक रूपमा मनकारी र उदार छ । राज्य निरीह र उदासीन भएर पनि होला, मानिसको दुःखले मानिसलाई छुने र त्यही अनुसारका सर-सहयोग आदान प्रदान हुने वातावरण अझै पनि छ हाम्रो समाजमा । तर बिचार गर्नुस त- आधुनिकता,सहरीकरण र व्यस्तताले पनि यही गतिमा छोप्दै जाने, अनि राज्यमा अभाव र उदासीनता पनि यही अनुपातमा कायम रहिरहने हो भने हामी कुन लेभलको फ्रस्ट्रेसनको शिकार बनौंला ? फ्रस्ट्रेसनमा रुनु अघि फ्रेस हुन रुनु जरुरी छ । आउनूस्, संगै रोऊँ ।

आकास नरोई वर्षात हुँदैन । धर्ती नरसाई नदी बग्दैन । मान्छे नरोई मान्छे मानव बन्दैन । रुनु भनेको कमजोर हुनु वा दुःखी हुनु हैन, जीवित हुनु हो, झन बलियो हुनु हो । रुने मानिसले आत्महत्या गर्ने सम्भावना न्यून हुन्छ रे, वैज्ञानिक अध्ययनले पनि त्यसै भन्छन । जसरी हाँसो जीवनमा खुसी रहनको लागि थेरापी हो त्यसै गरी आँशु पनि बोझ रहित जीवन बाँच्नको लागि अचूक थेरापी हो । रुनु लाजको विषय हैन । रुनु आफू भित्र अझै पनि मानव मन छ है भन्ने आभाष र अनुभूति हो । रोएर कमजोर भइँदैन । रोएर कमजोरी बग्छ । कमजोरी बगे पछि बलियो भइन्छ ।

हेमन्त गिरी

घर छोड्दा आमा रुनु भो । कमजोर भएर हैन । सन्तानलाई काख पर बनाएर पनि खुसी खुसी बाँच्ने आधार तयार गर्न रुनुभाको हो, आँशु संगै उहाँ तयार हुनुभाको हो- बिछोडको अवधीभर आफूलाई सम्हालेर मन बलियो बनाई बस्नको लागि । विमानस्थलमा बा रुनुभो । कमजोर भएर हैन, आँशुहरूको समुद्र तरी कतै उड्न लागेको आफ्नो पंक्षी सन्तानको अभावमा पनि म बलियो र दृढ रहनेछु भनेर देखाउन रुनुभएको हो । बिदाइमा बैनी रोई । गलेर, थाकेर रोएकी हैन । नयाँ र नौलो संसारमा प्रेम पूर्ण संघर्ष गर्नेछु भन्ने विश्वासमा रोएकी हो । ‘उन’ले छोडेर जाँदा ‘ऊ’ रोयो । एक्लै भएँ भनेर रोएको हैन, ‘उनी’ संग जीवनभर बगाउँला भनेर साँचेका आँशुलाई एकै पटक पोखिदिएको हो, जीवनमा ‘उनी’ संगै नहुने भए पछि एक्लो आफू, बलियो बनेको हो ।

दशैंमा आशीर्वाद दिंदा बा आमा रुनुभो । आशीर्वाद थाप्दा सन्तान रोए । घर छोड्दा रोए । घर फर्किंदा रोए । समयले विभिन्न परीक्षा लिंदा रोए । फेरि त्यही समयले पुरस्कार दिंदा रोए । मुटु दुख्दा रोए, माया पाउँदा रोए । अभावमा रोए, प्राप्तिमा रोए । दुःखमा रोए, खुसीमा रोए । मानिसहरू हरेक क्षण रोए तर देखाएनन । यसकारण कि उनीहरूलाई लाग्यो रुनु भनेको कमजोर हुनु हो । रुनु भनेको लाजको विषय हो ।

हैन । रुनु लाजको विषय हैन । मानिस हुनु हो । मानिस हुन के को लाज ? दिदी बैनी जम्मा भएर ‘सुखम दुःखम’ गर्ने जमाना गए । सारंगी दाई आएर विरही धुन सुनाउने जमाना पनि गए । मर्दा पर्दा मानिसहरू जम्मा भएर आँशु चुहाउने जमाना समेत हराउन थाले । प्रविधिको विकास र आधुनिकीकरण संगै मानिस रोबोट बन्ने क्रममा छ । भावना साटासाट गर्ने, सुख दुःख बिसाउने फुर्सद छैन मानिसलाई । अझ भनौं फुर्सद नै निकाल्न चाहँदैन मान्छे । एकोहोरो रेसको घोंडा झैं कुदेको कुदै छ । आफू को हुँ, के हुँ बिर्सिरहेछ ।

अनि जब चलचित्रका दृश्यले कहिलेकाहिं चिमोटिदिन्छन, यो ढुङगो बनेको मानिस अनायासै रोइदिन्छ । उसकै वरिपरी कथाहरू छन, पात्रहरू छन जो संग रुन सकियोस्, हाँस्न सकियोस् तर मानिस परको चन्द्रमा देखेर खुसी हुन्छ र उत्तिबेलै त्यही चन्द्रमामा दाग देखेर दुखी भइदिन्छ । आफै बग्ने आँशुहरूलाई बगाइदिन मानिसलाई चलचित्र चाहिएको छ, आफ्ना वरिपरी चौबीसै घण्टा, चारै प्रहार चलिरहने सजीव चित्रहरूलाई चाहिं मानिस अन्देखा गरिरहेको छ । आफै भयानक अभिनय गरिरहेछ मानिस, तर पर्दाको अभिनयले रोइरहेछ । अब यो अभिनय रोकौं र आउनूस्, रुने मौका नमिल्नु अघि एकपटक संगै रोऊँ ।

प्रतिक्रिया
Loading...