नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘मैले बिक्रीभन्दा पाठकको प्रतिक्रिया कुरिरहेको छु’: जीवा लामिछाने, नियात्राकार

नियात्राकारका जीवा लामिछानेको दोस्रो कृति ”देश देशावर” बजारमा आएलगत्तै आफ्नो पकड जमाएको छ । काठमाडौँ, चितवन र पोखरा पुस्तक बजारका मुख्य स्टेसन मानिन्छन् । यी तीनवटै स्टेसनमा देश देशावर छिरेको ४८ घन्टाभित्रै निकै राम्रो संख्यामा बिक्री भएको साहित्यपोस्टको अध्ययनले देखाएको छ । यसलाई प्रकाशन गृहले पनि अनौपचारिकरुपमा पुष्टि गरेको छ । दसैँ र तिहारपछि नेपाली पुस्तकको व्यापार लामो समयका लागि सुस्ताउँछ । यस्तो फरक समयमा आएको देशदेशावरले भने फरक लय समातिरहेको छ।
केही वर्षदेखि जर्मनीमा रहेर व्यवशाय गरिरहेका गैरआवासीय नेपाली संघका परिकल्पनाकार समेत रहेका लामिछानेलाई कुबेलामा आएको उनको कृतिले पाएको चर्चालाई केन्द्रमा राखेर केही प्रश्न गरेका थियौँ ।

सामान्यतया दसैँपछिको समय पुस्तक बजारका लागि उति राम्रो मानिदैन । यस्तो बेलामा पनि तपाईंको पुस्तकको प्रारम्भिक रिपोर्ट निकै राम्रो देखिन्छ । कस्तो लागेको छ ?
हो र ? यो जानकारी मेरालागि पनि सुखद् आश्चर्य हो । कोभिडका बीचमा पनि दसैँ तिहार मान्न नेपाल जानु भएका कयौँ साथीहरुले दसैँपछि पुस्तक पसलहरुमा गएर मेरो पुस्तकको सोधखोज गरेको र नपाइएको बताइरहनु हुन्थ्यो । उहाँहरु फर्कन लाग्नु भएका कारण र उहाँहरुमार्फत् विदेशमा रहनु भएका अन्य साथीभाइहरुले पनि पुस्तक मगाउनु भएका कारण पहिलो दुई दिनमा यस्तो

जीवा लामिछाने

रिपोर्ट आएको हुनसक्छ । केही पुस्तक विक्रेताहरुबाट मेरो पुस्तक खोज्दै केही स्थानीय पाठक आउनु भएको कुरा सुनेको थिएँ । यसले नेपालभित्र पनि मैले केही पाठक कमाएको रहेछु भन्ने लागेको थियो । तर दुई दिनमै ठूलो संख्यामा पुस्तकको अर्डर आउनुलाई चाहिँ मैले अलि अपत्यारिलो खबरका रुपमा लिएँ । किनभने नेपाली पुस्तकको बजार सानो छ भन्ने मलाई थाहा छ र अहिलेको प्रतिकूल परिस्थितिका बीचमा पनि कोही ताजा पुस्तक खोज्दै विक्रेतासम्म पुग्छ भने यो निकै खुसीको कुरा हो ।

तपाईंको कृति दसैँअघि नै आउने हल्ला थियो । सामाजिक सञ्जालतिर केही पाठकहरुले पुस्तक पढेको तस्बिर पनि सार्वजनिक गरेका थिए । छापिएको पुस्तक पनि बजारमा आउन किन ढिला भयो ?
प्रकाशन गृहले बनाएको योजना मुतिाबिक यो पुस्तक नयाँ वर्ष २०७७ को हाराहारीमा पाठकहरुको हातमा पुग्नुपर्ने थियो । त्यसैअनुसार पुस्तक छापिएर बजारमा जान तयार भएको हो तर कोरोना महामारीका कारण सम्भव हुन सकेन । त्यो बेला छापिएका पुस्तकहरुसमेत बजारमा पठाउने अवस्था थिएन । यद्यपि दसैँअघि चाहिँ ‘देश देशावर’ बजारमा आउला भन्ने मेरो पनि अपेक्षा थियो । तर प्रकाशनगृह फाइन प्रिन्टसँग अरु पनि पुस्तक बजारमा पठाउनु पर्ने बाध्यता थियो । सायद एकसाथ सबै पुस्तक बजारमा पठाउँदा व्यवस्थापन गर्न गाह्रो हुने ठानेर ढिला भएको हुन सक्छ । तर म खुसी नै छु । दसैँ तिहारपछि पनि पाठकलाई पढ्ने खुराक चाहिन्छ । सायद उहाँहरुलेअहिले पुस्तक पठाउनुको कारण केही सोचेरै यो निर्णय गर्नुभएको होला ।

तपाईं सामायिक कुरामा पनि राम्रो रुचि राख्नुहुन्छ र जानकार भएको पनि देखिन्छ तर नियात्राका किताब मात्रै निकालिरहनुभएको छ । यसको कारण ?
म व्यवशायिक लेखक होइन । त्यसैले पनि रुचि भएका सबै कुरा समयको अभावका कारण पनि लेख्न नसकिँदो रहेछ । तैपनि बेलाबखत विश्वका राजनीतिक इतिहासबारे लेख्ने गरेकै छु । तर पठनमा रुचि छ । मलाई पाठक बन्न नै बढी श्रेयस्कर लाग्छ । जहाँसम्म नियात्राको सन्दर्भ छ, यसमा चाहिँ फरक प्रसङ्ग छ ।

कस्तो प्रसङ्ग ?
तीन कुरामा मेरो बढी रुचि छ । एउटा पुस्तक पढ्ने, अर्को यात्रा गर्ने अनि तेस्रो चाहिँ दैनिक डायरी लेख्ने । मैले जहाँ-जहाँ यात्रा गरेँ, त्यसको बारेमा लेख्दै गएँ । यसरी लेखिएका कुरा पछि पढ्दा ती यात्रा ताजा हुँदा रहेछन् । एक दुईवटा त्यस्ता सामग्रीहरुलाई नियात्राको रुप दिएर पत्रपत्रिकामा छाप्दा त्यसले निकै राम्रो प्रतिक्रिया पायो । जब दुई चारवटा नियात्रा प्रकाशन भए, एउटा किताब निकालौँ न तभन्ने सोच आयो र केही शुभचिंतक साथीहरुले हौसला पनि दिनुभयो । त्यो रहर मात्र थियो । तर त्यसले जसरी पाठकहरुबाट मायापायो, मलाई आफूले यात्रा गरेका कुराबाट पाठकहरु पनि केही लाभान्वित हुनुहुँदो रहेछ भन्ने महसुस भयो ।

खासमा पहिलो पुस्तकले दिएको उत्साह नै देश देशावरको जन्मको पृष्ठभूमि हो । तर यसपटक फरक के छ भने पहिलो पुस्तकका कमीकमजोरीलाई हटाउँदै योजनाबद्ध लेखन गरौँ भन्ने सोचेँ । अहिले बजारको प्रतिक्रिया सुनेर खुसी लाग्यो । तर म विक्रीको भन्दा पनिपाठकको प्रतिक्रिया कुरेर बसेको छु ।

देशावरलाई तपाईँले व्यवस्थित लेखन भन्नु भयो । यसको अर्थ तपाईँले किताब लेख्छु नै भनेर संसारका विभिन्न ठाउँमा जानुभएको हो ?

मैले तीन कारणले विश्वका विभिन्न देशको यात्रा गरें । गैरआवासीय नेपाली संघ विस्तारका क्रममा जहाँ जहाँ नेपालीहरुको बसोबास छ, त्यहाँ त्यहाँ पुग्ने योजना बनाएको थिएँ । ती मध्ये धेरै देशमा पुगियो पनि। दोस्रो व्यवशायका कारण जहाँ जहाँ पुग्नुपर्ने बाध्यता थियो, ती देशमा पुगेर व्यवशायिक काम सकेपछिका केही दिन मैले पर्यटन यात्रा पनि गरेँ । तर पहिला पहिलाका यात्रा गर्दा यसलाई लिपिबद्धगरौँला, किताब नै निकालौँला भन्ने सोच छँदै थिएन । तर डायरी लेख्ने बानीका कारण ती यात्राका टिपोटहरु भने प्रसस्तै थिए । तर यिनैटिपोटबाट पहिलो किताब तयार भयो ।

पछिल्लो समय भने विश्वका महत्वपूर्ण ठाउँ घुम्नुपर्छ भनेर योजना बनाएको छु । ती मध्ये पछिल्लो समय घुमेका वा घुमाइका क्रममाभोगेका अनुभुती चाहिँ लेख्छु नै भन्ने सोच बनाएको छु । यो सोच भने पहिलो पुस्तकको प्रकाशनपछि नै आएको हो । आजभोलि चाहिँकुनै नयाँ ठाउँ पुगें र नयाँ कुराको अनुभुती भयो भने यसलाई लेख्नुपर्छ होला भन्ने सोच आउँछ । कहिलेकाहिँ लाग्छ, व्ययवशायिकलेखकहरु पनि यसरी नै सोच्दा हुन् ।

‘देश देशावर‘मा भ”गोलको सरसर्ती बयान मात्र पढ्न पाइन्छ कि ती देशका रहन, सहन, संस्कृति एवं पछिल्लो प्रगतिको तस्बिर पनि देखिन्छन् ?

भूगोलको सरसर्ती बयान मात्र भयो भने सायद त्यो नियात्रा नहोला । यसपटक सचेत भएरै नियात्रा लेखेको हुँदा एउटा नियात्रामा हुनुपर्ने गुण पस्कने प्रयास गरेको छु । मैले सकेसम्म आफू घुमेको क्षेत्रलाई चिनाउन भूगोल, संस्कृति, त्यसको राजनैतिक एवं सामाजिक इतिहास, त्यहाँको सामाजिक मनोविज्ञान र पछिल्लो आर्थिक प्रगतिहरुलाई पनि समेट्ने प्रयास गरेको छु । तर ती सबै एकै नासले एकैशैलीमा आउँदैनन् । यसको कारण के भने म कुन ठाउँमा केका लागि त्यहाँ पुगेको छु, त्यसलाई न्याय गर्ने प्रयास गरेका कारण म त्यही विषयमा बढी केन्द्रित भएको छु । यसो गर्दा त्यो देशको वा त्यस क्षेत्रका धेरै कुरा छुटेका हुन सक्छन् । त्यो स्वभाविक पनि किन हो भने त्यस्ता जानकारीका लागि त गुगल र युट्युबमा अनेकन जानकारी सजिलै पाइन्छन् । सकेसम्म मैले त्यहाँका यथार्थ कुरालाई निजी अनुभूतिले पोलिस गर्ने प्रयास गरेको छु ।

‘देश देशावर‘ पढेर पाठकले आफ्नो मुलुकको कमजोर तस्बिर मात्र देख्छन् कि ती कुराहरु पढेर यहाँ हुन सक्ने सम्भावनाको खोजी पनि गर्न सक्छन् ?

मेरा लेख वा पुस्तक पढ्दा ठाउँठाउँमा नेपाल सम्झेको पाउनु भएकै होला । मैले यात्रा गरेका क्षणहरुमा आफ्नो मुलुकको कमजोर पक्ष पनि देख्दै जान्छु र सम्भावना पनि देखिरहेको हुन्छु । यही कुराहरु शब्दमा आउँछन् । यो मैले पाठकलाई पठाउनु पर्छ भनेर लेखेको होइन, लेख्दै जाँदा स्वतः ती कुराहरु पर्न जान्छन् । यस अर्थमा अघिल्लो पुस्तकमा जस्तै यसमा पनि मैले घुमेका ठाउँहरुमा नेपाल सम्झेको छु र देशका कमजोरी र सम्भावनाहरुको पनि वर्णन गरेको छु । पाठकले दुवैथरि कुरा पाउनु हुनेछ ।

तपाईँका पछिल्ला लेखनहरु माझिँदै गएको पाठकहरुले अनुभव गरेका छन् । लेख्दै गर्दा तपाइँमा प्रख्यातिको लोभ हुन्छ कि आत्मसन्तुष्टि प्राप्त हुन्छ कि आर्थिक फाइदाको आकांक्षा हुन्छ ? अथवा आफूले थाहा पाएका केही ज्ञानहरु अरुलाई पनि बाडौँ भन्ने सोचहुन्छ । सिधा भाषामा सोध्दा तपाईँलाई केले लेखक बन्न उक्साइरहेको छ ?

मलाई अझै पनि आफू लेखक हुँ भन्ने लाग्दैन । कतिपय पाठकले मलाई लेखकका रुपमा इज्जत दिँदा केही असहज महसुस गर्छु तर लेख्दा र आफूले लेखेका कुराले राम्रो प्रतिक्रिया प्राप्त गर्दा आत्मसन्तुष्टि भने हुन्छ ।

जहाँसम्म प्रख्यातिको कुरा छ, मलाई अझै आफू लेखक भइसकेको छु भन्ने लाग्दैन । साहित्यप्रेमी भने हुँ । मलाई लेखनले साहित्यकारहरुको थप संगत गर्ने मौका मिलेको छ । यो मेरालागि उपलब्धिको कुरा हो । ज्ञानको वितरण गर्ने हैसियतमा पनि म पुगिसकेको छैन । तर मेरा नियात्रा पढेर धेरै पाठकले त्यस क्षेत्रबारे थप खोजीनीति गरेर नयाँ कुरा थाहा पाएको कुरा सुनाउँदा भने खुसी लाग्छ । तर यो मेरो कारणले नभई उहाँहरुले त्यो विषयमा दिएको चासोले गर्दा हो ।

मलाई पढ्दा र लेख्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ । सायद यही कारणले मलाई लेख्न र पढ्न उक्साइरहन्छ ।

‘देश देशावर‘ पढ्ने पाठकहरुले निचोडमा पाउने कुरा के हो ?

हरेक पाठकको पठन अनुभव एउटै पुस्तकबाट पनि फरक फरक हुन्छ भन्ने मैले महसुस गरेको छु । त्यसैले ‘देश देशावर‘ पढ्दा यो नियम लागू हुनेछ । यद्यपि यो नियात्रा विधा भएका कारण केही ठाउँको सामान्य यात्रा चाहिँ मसँगै गर्न सकिन्छ कि ? वा त्यस देशका बारेमा वा ती क्षेत्रका बारेमा चासो जाग्छ कि भन्ने चाहिँ लागेको छ । अथवा घर बसेर केही देश अक्षरमार्फत् नै भए पनि घुम्न सकिन्छ कि !

प्रतिक्रिया
Loading...